रबिकिरण रेग्मी, चितवन । हिजो शुक्रबारदेखि पुल्चोक-गोन्द्राङ सडकखण्ड अन्तरगत नारायणगढमा नक्सापास एवम निर्माण सम्पन्न प्रमाणपत्र प्राप्त व्यवसायिक भवनहरुमाथि सडक विभागले सडक विस्तारका नाममा डोजर लगाएको कार्यप्रति उद्योग वाणिज्य संघ चितवनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आज पत्रकार सम्मेलन गरि उद्योग वाणिज्य संघ चितवनले गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले विकासका लागि आवश्यक पूर्वाधारहरु निर्माणका कार्यहरु हुनुपर्दछ तर दिर्घकालिन र आवश्यक समन्वमा मात्र हुनुपर्दछ भन्ने संघको मान्यता रहेकोे बताए । उनले एकातर्फ संघको प्रतिनिधिलाई आस्वासन दिने र अर्काेतर्फ अव्यवस्थित रुपमा संरचना भत्काउने कार्यप्रति गहिरो दुख व्यक्त गरे । मपदण्डभन्दा बढि भएको संरचना व्यवसायि घरधनि आफैले भत्काउदै गरेको अवस्थामा श्रमिकलाई काम गर्न नदिई डोजर लगाई सटर भत्काउने कार्य गर्दा व्यवसायिको सामान यत्रतत्र छरिएको र वित्तिय संस्थाका एटिएम मेसिन, लकरमा समेत क्षति पुयाएको प्रति संघले घोर भत्सर्ना व्यक्त गरेको छ ।
कोभिड १९ र तत्पश्चात वित्तिय क्षेत्रमा देखिएको जटिलता र बैंक ब्याजदरमा भएको वृद्धिले थलिएको व्यवसायिहरुलाई थप आंतकित र हतोत्साहित गराउने कार्य भएको श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले राज्यकै एउटा निकायले भवन निर्माणको लागि अनुमति दिने र अर्कोले निर्माण भइसकेको संरचना भत्काउने कार्य लज्जास्पद भएको बताए । ‘राज्यकै कुनै निकायबाट भवन निर्माणको लागि अनुमति प्रदान गर्ने र राज्यकै अर्को निकायबाट निर्माण भइसकेको संरचना भत्काउने कार्य लज्जास्पद रहेको संघले महसुस गरेको छ’, उनले भने ।
घरधनी र व्यवसायिलाई व्यवस्थापनको समय नदिई, घरधनिले आफैं भत्काउनलागेको अवस्थामा समेत नगरको सुन्दरता बिग्रने र भवनको बांकि संरचना कमजोर गराउने तवरले एक्कासी संरचना भत्काउने कार्यप्रति घोर भत्र्सना गरेको छ । भत्काइएका संरचनाका घरधनि र व्यवसायिलाई यथोचित क्षतिपुर्तिका लागि सम्बन्धित निकायमा जोडदार माग गर्नुका साथसाथै सोको कानुनी उपचारको समेत पहल गर्ने उनले बताए ।









