चितवन । भरतपुर महानगरपालिकाभित्र सञ्चालनमा रहेका पाँचवटा सहकारीमा समस्या देखिएको छ । आर्थिक तरलताका कारण सहकारीमा समस्या देखिएको हो । तरलता अभावसँगै अन्य सहकारीहरुलाई पनि व्यवस्थापन गर्न धौधौ परेको छ ।
भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख रामबाबु पौडेलका अनुसार भरतपुर महानगरको क्षेत्राधिकार भित्र रहेका तीन वटा र क्षेत्राधिकार बाहिर रहेका दुईवटा सहकारीमा आर्थिक तरलताको समस्या देखिएको हो । महानगर क्षेत्राधिकार भित्र रहेको चन्द्रदर्शन वचत तथा ऋण सहकारी संस्था र समाज कल्याण बचत तथा ऋण सहकारी संस्थामा समस्या देखिएको छ । सनराईज बचत तथा ऋण सहकारी संस्थामा सञ्चालकको नियतका कारण समस्या आएको उहाँले जानकारी दिनुभयो । यस्तै प्रदेश सरकारको क्षेत्राधिकार भित्र रहेको साहारा चितवन बचत तथा ऋण सहकारी र सहकारी विभागको क्षेत्राधिकार भित्र रहेको शुक्रपथ वचत तथा ऋण सहकारीमा पनि समस्यामा परेको छ ।
महानगरको क्षेत्राधिकार भित्र रहेका सहकारीहरु सनराइज वचत तथा ऋण सहकारी संस्थामा सञ्चालकले ऋणी नक्कली खडा गरेर काम गरेको पाईएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ३ मा रहेको सो सहकारीका अध्यक्षले नक्कली ऋणी खडा गरेर आर्थिक हिनामिना गरेको पाईए पछि छानविन सुरु गरेको पौडेलले बताउनुभयो । भरतपुर महानगरपालिका वडा नं. ३ का अध्यक्ष विकास थापाले निक्षेपकर्ताहरुको बचत असुलीका लागि आवश्यक सहजीकरण भईरहेको बताउनुभयो ।
उक्त सहकारीमा कर्मचारीको सहयोगमा अध्यक्षले रकम हिनामिना गरेको पाईएको छ । यस सहकारीमा ३ हजार ५ सय शेयर सदस्य रहेको र रु ७० करोडको कारोबार भएको पौडेलले जानकारी दिनुभयो । यस सहकारीले ३ स्थानमा सेवा कार्यालय सञ्चालन गरी आफ्नो कारोवार गर्दै आएको थियो ।
यस्तै चन्द्रदर्शन वचत तथा ऋण सहकारी संस्थामा २ हजार २ सय शेयर सदस्य रहेका छन् । आर्थिक तरलता देखिएपछि सहकारीले रु १ लाखभन्दा कम बचत भएका वचतकर्ताको रकम फिर्ता गर्न लागेको पौडेलले बताउनुभयो । यस सहकारीमा वार्षिक रु २० करोड हाराहारीको कारोबार हुने गरेको शाखाले जनाएको छ ।
समाज कल्याण वचत तथा ऋण सहकारी संस्थामा वार्षिक रु ३५ करोड हाराहारीको कारोवार हुने गरेको थियो । पाँच हजार सदस्य रहेको सो सहकारीलेको प्रधान कार्यालय भरतपुर महानगरपालिका वडा नम्बर १ मा रहेको छ । जसले दुईवटा सेवा केन्द्रको अनुमती लिएको भए पनि एउटा केन्द्रबाट काम गर्दै आएको पौडेलले बताउनुभयो । सहकारीले साना वचतकर्ताको रकम फिर्ता गरिरहेको छ भने ठूला वचतकर्ताको रकम फिर्ता गर्न सकेको छैन ।
प्रदेश र सहकारी बिभागको क्षेत्राधिकार भित्र रहेका दुई सहकारीको बिवरण महानगरपालिकाको सहकारी तथा रोगार प्रवद्र्धन शाखासँग नहुने भएकाले कति वचत कर्ता प्रभावित भए भन्ने बिषयमा जानकारी नभएको उहाँले बताउनुभयो ।
तरलताको अभावका कारण वचतकर्ताहरुलाई समयमा रकम दिन नसक्ने समस्या बढेसँगै महानगरपालिकाको क्षेत्राधिकार भित्र रहेका सहकारीहरुले साधारण सभा मार्फत समस्या समाधानका लागि काम गर्न लागेका छन् । महानगरमा हाल ३५४ वटा सहकारी संस्था सञ्चालनमा रहेका छन् । ती मध्ये ४८ वटा सहकारी संस्था निस्क्रिय रहेको उहाँले बताउनुभयो । रासस









