चितवन । चितवनका सांसद जेएन थपलिया वाग्मती प्रदेशको एमाले संसदीय दलको नेता बन्ने प्रबल सम्भावना छ ।
प्रदेश सभामा एमालेबाट निर्वाचित १२ सांसदमध्ये थपलिया सबैभन्दा पाका र अनुभवी नेता भएकोले उनको सम्भावना बढेको हो । प्रदेशसभामा प्रत्यक्षमा विजयी भएका सिनियर नेतालाई संसदीय दलको नेता बनाउने पार्टीले जनाउँदै आएको छ । नयाँ समिकरण बन्न नसकेको अवस्थामा प्रत्यक्ष र समानुपातिकमा पाएको मतले एमाले प्रमुख प्रतिपक्षको भूमिकामा रहने स्पष्ट देखिएको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा एमाले बाग्मती प्रदेश कमिटीका पूर्वअध्यक्ष आनन्द पोखरेलले बाग्मतीमा एमाले बलियो प्रतिपक्षको भूमिकामा रहने बताए । उनले भने, ‘ ‘हामी विरुद्ध गठबन्धन भएर उठेका राजनीतिक दलहरूले यो प्रदेशमा बहुमत ल्याइसकेका छन्, तसर्थ हामीले सरकार गठनबारे सोच निर्माण गरेका छैनौँ, बहुमत प्राप्त दल या गठबन्धनलाई सरकार निर्माण गर्न दिएर हामीहरू ‘स्ट्रोङ अपोजिसन’ मा रहन्छौँ ।’ उनले प्रत्यक्षमा विजयी भएका नेताहरुमध्ये चितवनबाट विजयी भएका जगन्नाथ थपलिया सबैभन्दा सिनियर रहेकोको उहाँ नै नेता हुने पनि संभावना रहेको बताए ।









