चितवन । चितवनको पहाडी क्षेत्रमा बसोबास गर्ने सीमान्तकृत चेपाङ सहित विपन्न समुदायका वालवालिकाको स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य परीक्षण शिविर सुरु भएको छ । सपना भिलेज सोसल इम्प्याक्टले कालिका, खैरहनी, रत्ननगर र इच्छाकामना गाउँपालिकाका वालावालिकाहरुको स्वास्थ्य सुरक्षाको लागि शिविर आयोजना गरेको हो ।
रत्ननगर अस्पतालको सहयोग रहेको सो शिविरमा विदेशी विशेषज्ञ डाक्टरहरुले वालवालिकाको स्वास्थ्य परीक्षण गरेका छन् । शिविरमा वालवालिकाको पूर्ण स्वस्थ्य परीक्षण गरी निशुल्क औषधि वितरण गरिएको र थप उपचारको लागि अस्पतालमा उपचार गर्नुपर्ने देखिए इम्प्याक्टले सम्पूर्ण खर्च व्यहोर्ने इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । बुधवार कालिका १० स्थित कालिका आधारभूत विद्यालयमा शिविर आयोजना गरी चेपाङ र तामाङ समुदायका १८० जना वालवालिकाको स्वास्थ्य परीक्षण गरिएको इम्प्याक्टका अध्यक्ष गिरीले जानकारी दिए । विभिन्न स्थानमा गरी शिविर ६ दिन सम्म सञ्चालन हुने छ ।
विहीवार कालिका १० कै सिद्धि स्वास्थ्यचौकी र १६ गते इच्छाकामना गाउँ पालिकाको चेपाङ बस्ती वडा नं १ भाराङमा शिविर हुने छ । त्यसैगरी १७ गते खैरहनी १३ स्थित गबई मावि,१८ गते रत्ननगर ८ स्थित चित्रसारी मावि र १९ गते सौराहा स्थित सपना स्कुलमा स्वास्थ्य शिविर हुने इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेतले जानकारी दिए । उद्घाटन कार्यक्रममा इम्प्याक्टका अध्यक्ष गिरीले सीमान्तकृत तथा विपन्न समुदायका वालावालिकाको स्वास्थ्य रक्षाको लागि विदेशी विशेषज्ञ डाक्टर सहितको शिविर आयोजना गरिएको बताए । आर्थिक अभावका कारण उपचार गराउन नपाएका वालवालिकाहरुमा रोग छिपिदै गएको हुन्छ उनले भने त्यसले उनीहरुको जीवन रक्षाका असर पर्ने भएकाले वालावालिकाको पूर्ण स्वास्थ्य परीक्षणको लागि शिविर गरेका हौ ।









