रबिकिरण रेग्मी, गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले वडाबाटै राष्ट्रिय परिचयपत्र विवरण दर्ता सुरु गरेको छ । सर्वसाधारणको सहजताका लागि स्थानीय तहका वडाबाटै दर्ता थालिएको हो । यसअघि जिल्ला प्रशासन कार्यालयबाट मात्रै परिचयका लागि विवरण दर्ताको काम हुँदै आएको थियो ।
आजदेखि गण्डकीको ८ वटै वडामा विवरण दर्ताको काम थालिएको हो । यो काम १९ गते सम्म चल्ने गाउँपालिकाले जनाएको छ । जिल्ला पञ्जिकरण विभाग गोरखाको प्राविधिक सहयोगमा परिचयपत्र विवरण दर्ताको काम थालिएको हो ।
डिजिटल राहदानीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि सबै स्थानीय तहमा विवरण दर्ताको तयारी थालिएको प्रशासनले जनाएको छ ।
परिचयपत्रका लागि आवेदन फाराम भर्दा १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकताको प्रमाणपत्र पाएका नागरिकले नाम, थर, जन्ममिति, लिङ्ग, आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नी नाम, बाजेको नाम उल्लेख गर्नुपर्छ । यस्तै फारममा औँलाछाप (१० वटा), आँखाको नानी, तस्वीर, राष्ट्रियता र हस्ताक्षर उपलब्ध गराउनुपर्छ ।
सरकारबाट नेपाली नागरिकलाई प्रदान गर्ने सेवा–सुविधालाई राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध गर्नाका साथै सो प्रणालीबाट प्राप्त हुने तथ्याङ्क तथा अभिलेख नीति एवं योजना निर्माणमा प्रयोग हुनेछ । यसले व्यक्तिको राष्ट्रिय पहिचानपत्र र मतदाता परिचयपत्रका रूपमा काम गर्ने सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधार दिनेछ । सामाजिक सुरक्षा कार्डका रूपमा यही कार्ड प्रयोग हुनेछ । यसले सुरक्षा व्यवस्थापनका लागि सहयोगी अभिलेखको काम गर्नेछ ।
अन्य सार्वजनिक सेवासँग राष्ट्रिय परिचयपत्र प्रणालीलाई आबद्ध गरेपछि सार्वजनिक सेवा प्रदायक निकायले झन्झटरहित, छोटो समय र कम लागतमा सेवा प्रदान गर्न सम्भव हुनेछ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्म, मृत्यु, बसाइँसराइ तथा अन्य कारणबाट व्यक्तिगत सूचनामा परिवर्तन भएमा सोहीअनुसारको अभिलेख व्यवस्थापन गर्ने प्रणालीको स्थापना तथा विकास गरेको छ । राष्ट्रिय परिचयपत्र नं र राष्ट्रिय परिचयपत्रलाई बहुउपयोगी प्रणालीका रूपमा सरकार र सरकारबीच (जिटुजी), सरकार र व्यवसायीबीच (जिटुबी) र सरकार र नागरिकबीच (जिटुसी) सेवा प्रदान गर्न उपयोग हुनेछ ।










