चितवन । दुई सशक्त महिलासँग प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धा गरिरहेका माडी नगरपालिकाका पूर्वमेयर ठाकुर ढकाललाई आफ्नै विगतको भाषण घाँडो भएको छ । महिलालाई होच्याउँदै चितवन क्षेत्र नम्बर ३ (२) का प्रदेशसभा उम्मेदवार ढकालले दिएको स्त्रीद्वेषी अभिव्यक्ति अहिले भाइरल भइरहेको छ ।
माडी नगरपालिकाको मेयरसमेत रहिसकेका माओवादी केन्द्रका नेता ढकाल सो क्षेत्रबाट गठबन्धनको प्रदेशसभा उम्मेदवार छन् । त्यस क्षेत्रमा एमालेले सरस्वती विष्ट र राप्रपाले रीना गुरुङलाई उम्मेदवार बनाएका छन् । गुरुङ यसअघि समानुपातिक सांसद थिइन् ।
मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा सत्ता गठबन्धन दलले चितवनबाट प्रत्यक्षतर्फ एक जना पनि महिला उम्मेदवार उठाएका छैनन् । उल्टै महिला उम्मेदवारलाई लक्षित गरेर छोरीलाई पैसा र सुन दान दिनुपर्ने तर मतदान गरे ठूलो भूल हुने चेतावनी दिएको भिडिओ भाइरल भएको छ ।
बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा माडी नगरपालिकाभित्र चुनावी घरदैलो चलिरहेको थियो । मेयरका उम्मेदवारको लागि सोही क्रममा ढकाल भोट माग्दै थिए । उनले आफ्नै पार्टीका मेयरका उम्मेदवारलाई भोट माग्ने क्रममा माडीको थारु बस्तीमा भोट माग्न भाषण गरे ।
भाषणका क्रममा उनले भनेको शब्द यस्तो थियो, ‘छोरीलाई दान दिने घर आउँदा पैसा छ भने सुनको सिक्री दान दिने हो । छोरीलाई मत दिने होइन ।’









