चितवन । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहित सबैले पालना गर्नुपर्ने बताउनुभएको छ । नेपाल कानुन समाजले आज यहाँ आयोजना गरेको निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका विषयक कार्यक्रममा बोल्दै उहाँले राजनीतिक दलका नेताहरुको उपस्थितिमा बनाइएको आचारसंहिता भएकाले साना र ठूला दल भन्ने कुरा नहुने बताउनुभयो ।
आचारसंहिता कार्यान्वयनका लागि सरोकारवालाको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो “आचारसंहिता निर्वाचनको कार्यक्रममा सहभागिता जनाउने जो सुकैलाई पनि लागू हुन्छ ।” दलका प्रतिनिधिको सहमतिले आचारसंहिता बनेको बताउँदै उहाँले यो कार्यान्वयन गर्नु दल र उम्मेदवारको कर्तव्य हुने बताउनुभयो । आचारसंहिता कार्यान्वयनका लागि सरोकारवाला निकायसँगै कर्मचारीहरु पनि चनाखो हुनु पर्ने उहाँले बताउनुभयो ।
आचारसंहिता स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि बनाइएको बताउँदै उहाँले यसले निर्वाचनको विश्वशनीयता कायम गर्ने बताउनुभयो ।कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव धनराज ज्ञवालीले आचारसंहिता नैतिक कानुनीबन्धन भएकाले सबैले पूर्ण रुपमा पालना गर्नुपर्ने बताउनुभयो । उहाँले आँफैले बनाएको नियमको आँफैले उल्घन गर्नु भनेको दण्डनिय भएको बताउदै निर्वाचनमा हुने अपराध, दुव्र्यवहार, गलत अभ्यास, डर धाक, धम्की प्रलोभन जस्ता कार्य रोक्न सहयोग पुग्ने बताउनुभयो । निर्वाचन आचारसंहिताका प्रमुख बिषयहरु र सरोकारवालाको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्दै सचिब ज्ञवालीले आचारसंहिता पालना भए नभएको अनुगमन गर्ने काम सबै पक्षबाट हुन जरुरी रहेको बताउनुभयो ।
निर्वाचनको मिति घोषणा हुनुअघि ठेक्का सम्झौता भएर सुरु भएका विकास निर्माणका काममा भने आचारसंहिता लागू नहुने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा सङ्घ र प्रदेशसभा सदस्यको निर्वाचनमा खर्च र प्रचारप्रसार विषयमा कार्यपत्र प्रस्तुत गर्दै निर्वाचन आयोगकी उपसचिव लक्ष्मी शर्माले आयोगले निर्धारण गरेको खर्च भन्दा बढी रकम खर्च गर्न नपाईने बताउनुभयो ।
आयोगले रु २५ लाख देखि ३३ लाखसम्म भौगोलिक अवस्था अनुसार खर्चको निर्धारण गरेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा चितवनमा मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले जिल्लामा आचारसंहिता कार्यान्वयनका सवालमा उठेका प्रश्नको जवाफ दिनुभएको थियो ।-रासस









