चितवनमा दन्त उपचारमा डिजिटल स्क्यानर प्रविधि

चितवन । यहाँको साईराम डेन्टल केयरले दन्त उपचारमा पछिल्लो पटक विकास भएको अत्याधुनिक उपकरण भित्र्याएको छ । डिजिटल डेन्टल स्क्यानर भित्रिएसँगै उपचारमा सहजता भएको हो ।

नेपालमा भर्खरै भित्रिएको यो प्रविधि उपत्यका बाहिर पहिलो पटक साईरामले भित्र्याएको हो । डेन्टल केयरका सञ्चालक डा सरु थापा न्यौपानेले डेन्टल स्क्यानरको माध्यमबाट मुखभित्रको सम्पूर्ण अवस्थाको जानकारी कम्प्युटरको स्क्रिनमा थ्रिडी तस्वीरमा हेर्न सकिने बताउनुभयो । उहाँका अनुसार विगतमा बिरामीको दाँतसम्बन्धी क्राउन, ब्रिज, दाँत राख्नेलगायत जुनसुकै काम गर्नुपरेमा हातैले नापो लिनुपर्ने, नापो अनुसार ल्याब (प्रयोगशाला) मा पठाउनुपर्ने हुन्थ्यो ।

प्रयोगशालाबाट बनेर आएपछि पनि कहिलेकाहीँ नमिल्ने जस्ता समस्या हुने भएकाले काम गर्न धेरै झन्झटिलो र गाह्रो हुने गरेको डा न्यौपानेको भनाइ छ । उहाँले भन्नुभयो, “डिजिटल डेन्टल स्क्यानरले बिरामीलाई एउटै कुर्चीमा राखेर दाँत र मुखको सम्पूर्ण स्क्यान गर्न मिल्छ ।” यो प्रविधिबाट उपचार गर्दा समयको बचत साथै बिरामी र चिकित्सकलाई सहज हुने उहाँको भनाइ छ डा न्यौपानेले थप्नुभयो, “दाँत कीराले खाएको छ कि छैन ? गिँजाका समस्या के छ ? मुखमा घाँउ खटिरा के छ ? मुखमा क्यान्सर हुने अवस्था छ कि छैन ? भन्ने कुरा कम्प्युटरको स्क्रिनमा हेरेर थाहा हुुन्छ ।”

विगतमा दाँतको नापो लिएर प्रयोगशालामा पठाउनुपर्ने हुँदा एक दुई दिन समय कुर्नुपर्ने भए पनि अब लामो समय कुर्नु नपर्ने डा न्यौपानेले बताउनुभयो । डा न्यौपानेले भन्नुभयो, “ईमेलमार्फत् प्रयोगशालामा पठाइएको स्क्यान विवरणका आधारमा तत्कालै क्राउन, ब्रिज, दाँत तयार हुन्छ । छोटो समय हुने बिरामीलाई धेरै समय कुर्नु नपर्ने भयो ।”

कुनै बिरामीको दाँत राख्नु पर्ने छ वा दाँतमा कभर राख्नु छ भने पनि सही नापो यसबाट पत्ता लगाउन सकिने उहाँको भनाइ छ । बिरामीको ईम्प्लान्ट राख्न पनि हातले गर्दा जोखिम हुने बताउँदै उहाँले स्क्यान डाटाको आधारमा प्लान गरेर बिरामीको मुखमा ईम्प्लान्ट राख्न सहज हुने बताउनुभयो । उहाँले भन्नुभयो “भोलिका दिनमा बिरामीलाई पुनः बोलाउनुपर्ने समस्या पनि हुँदैन । कुनै बिरामी विदेशमै भए पनि उसको कम्प्युटरमा रहेका विवरणका आधारमा दाँत, ब्रिज, क्राउन तयार गर्न सकिन्छ ।”

२१ औँ शताब्दीमा डिजिटल डेन्टिस्ट्रि प्रविधि अनिवार्य भइसकेको छ डा न्यौपानेको भनाइ छ । उहाँले भन्नुभयो “बिरामीलाई सहज र सरल तरिकाले सेवा दिन यो प्रविधि अति नै उपयोगी छ ।” अमेरिका युरोप जस्ता देशमा अहिले यही प्रविधिको प्रयोग भइरहेको उहाँले बताउनुभयो ।-रासस

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको