जलविद्युत र पर्यटनमा लगानी भित्र्याउन प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेसियाको लगानी भित्र्याउने काममा सहजीकरण गर्न नेपालका लागि इन्डोनेसियाका राजदूतलाई आग्रह गर्नुभएको छ ।

आज प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका नेपालका लागि इन्डोनेसियाका राजदूत हेरु हारतान्तो सुबोलोसँगको भेटमा प्रधानमन्त्री देउवाले सो आग्रह गर्नुभएको हो ।

“प्रधानमन्त्रीज्यूले पर्यटन, जलविद्युत् तथा अन्य सम्भावित व्यवसायमा इन्डोनेसियाको लगानी भित्र्याउन र नेपालको हिमाली पर्यटनलाई इन्डोनेसियाका पर्यटकबीच प्रवद्र्धन गर्न आग्रह गर्नुभयो”, प्रधानमन्त्रीलाई उद्धृत गर्दै सो भेटमा सहभागी नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत एवं नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभयो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले नेपालमा गणतन्त्र इन्डोनेसियाको आवासीय दूतावास स्थापनाका लागि इन्डोनेसियाको सरकारलाई आग्रह पनि गर्नुभयो । प्रधानमन्त्री देउवाले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि नेपाल भ्रमणका लागि राजदूत सुबोलोमार्फत इन्डोनेसियाली जनतालाई आग्रह गर्नुभएको ढकालले जानकारी दिनुभयो ।

उक्त भेटमा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका राजदूत सुबोलोले नेपालमा आवासीय दूतावास स्थापनाका लागि आफू सकारात्मक रहेको र प्रधानमन्त्रीको यो सन्देश इन्डोनेशियाली सरकारसमक्ष पु¥याउने बताउनुभयो ।

राजदूत सुबोलोले कूटनीतिक तथा सरकारी राहदानीवाहकलाई भिसा सहजीकरणका लागि दुई देशबीच छिट्टै सम्झौता हुने बताउनुभयो । आगामी अक्टोबरमा इन्डोनेसियामा आयोजना हुने ‘ट्रेड एक्स्पो’ प्रवद्र्धनका क्रममा राजदूत सुबोलोले नेपाल र इन्डोनेसियाबीच द्विपक्षीय व्यापार तथा लगानीका लागि भूमिका निर्वाह गर्ने बताउनुभयो । रासस

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको