गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले दशै लगत्तै राष्ट्रिय परिचयपत्र नम्बर वितरण गर्ने भएको छ । पालिकाले जिल्ला पञ्जीकरण विभाग गोरखाको प्राबिधिक सहयोगमा दशैपछि सबै नागरिकको राष्ट्रिय परिचयपत्र बनाउन वडा तहमै टोली खटाएर अभियान थाल्ने भएको हो ।
गण्डकी गाउँपालिकामा शनिबार आयोजित अभिमुखिकरण कार्यक्रममा जिल्लाका साहयक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले वडा सचिव तथा वडाध्यक्षहरुलाई राष्ट्रिय परिचयपत्र बारे अभिमुखीकरण तालिम दिए । बरालले कार्यक्रममा परिचयपत्रको उदेश्य, योजना र सरकारको निति बारे प्रष्ट पारेका थिए ।
दशै लगत्तै गण्डकी गाउँपालिकामा वडा-वडामा राष्ट्रिय परिचयपत्रको लागि फर्म भर्ने अभियान सुरु गरिने गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिना साकारले जानकारी दिए ।
पालिकाले सबै नागरिकको राष्ट्रिय परिचयपत्र समयमै बनाइसक्ने लक्ष्य लिएको छ । पालिकाको ८ वटै वडाका वडाध्यक्षको उपस्थितिमा यस्तो जानकारी दिएको हो । पालिकाले रुजु गर्ने अधिकार वडा सचीवलाई तोकेको छ ।
नागरिकता, राहदानी, जग्गा धनीपुर्जा, मतदाता परिचयपत्र लगायतका दुई दर्जन बढी परिचयपत्रको सरकारले एकीकृत रूपमा राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको हो ।
जनप्रतिनिधिहरूले राष्ट्रिय परिचयपत्रको अभियानमा पूर्ण साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय परिचयपत्रमा नागरिकका सम्पूर्ण जैविक तथा वैयक्तिक विवरण संकलन गरिनेछ ।