
चितवन । माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा चितवनका जिल्ला सहइन्चार्ज यम बहादुर परियार इन्द्रजित एमाले प्रवेश गरेका छन् । आज (विहिबार) पार्टी कार्यालयमा आयोजित कार्यक्रम मार्फत उनि एमाले प्रवेश गरेका हुन् ।
परियार एमाले र माओवादी एकिकरण भएपछि बनेको नेकपाको पनि चितवन जिल्ला संयोजक भएर काम गर्नुभएको छ । परियार पाँच पटक माओवादी पार्टीको चितवन जिल्ला अध्यक्ष तथा सेक्रेटरी भइसकेका नेता हुन् ।
परियारसहित माओवादी जनमुक्ति सेनाका तत्कालीन ब्रिगेड कमाण्डर अन्जन तिमल्सिनालगायत नवप्रवेशीलाई अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डेलगायतका नेताहरुले स्वागत गरेका थिए ।
माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र माडीबाटै राजनीति गरेका परियारको एमाले प्रवेशलाई सो पार्टीका नेताहरुले ठूलो उपलब्धिका रुपमा व्याख्या गरेका छन् । सोही कार्यक्रममा चितवनकै कालिका नगरपालिका कमिटीका उपाध्यक्ष तुलबहादुर बिक दिनेश पनि एमाले प्रवेश गरेका छन् ।
चितवनबाट ठूलो संख्यामा प्रभावशाली जिल्ला नेताहरु एमालेमा प्रवेश गरेको जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले बताए । न्यौपानेलाई एमालेले प्रचण्डविरुद्ध उम्मेदवार बनाउन एकल नाम सिफारिस गरेको छ । परियारलगायतका नेताहरुको प्रवेशलाई एमाले नेताहरुले टे«लरमात्र भन्दै चुनावअघि थप धक्का दिइने दाबी गरेका छन् ।
एमाले प्रवेश गर्दै परियारले आफू चौथो महाधिवेशनदेखि विभिन्न कालखण्डमा माओवादी जनयुद्धमा होमिएको भन्दै कुनै न कुनै रुपमा सधैं महत्वपूर्ण भूमिकामा रहेर काम गरेको बताए ।