चितवन । चितवनमा जंगली जनावरकोबाट एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा माडी नगरपालिका २ ढिकुनेका ६८ वर्षीय सुर्यनाथ अधिकारी रहेका छन् । उनी शनिबार दिउँसो १ बजे २५ वर्षीय छोरा होमबहादुर अधिकारीसँगै स्थानीय मध्यवर्ती सामुदायिक वन अमलियामा भैंसी चराउन गएका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार छोरा होमबहादुरले बुवा सुर्यनाथलाई घर जानु भनी पठाएका थिए । तर बेलुका छोरा घर पुग्दासम्म पनि बुवा नपुगेपछि स्थानीय र आफन्तले खोजी गरेका थिए । सोही क्रममा उनले लगाएको टोपी, चप्पल र बोकेको फेला परेको तथा बाटोमा रगतको टाटो देखिएपछि आज बिहान ७:३० बजे आफन्तले प्रहरीलाई खबर गरेका थिए ।
खोज तलासको क्रममा आज बिहान ८:३० बजे सोही वनमा बाघले खाएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।