गोरखाको गण्डकी गाउँपालिकाको मुख्य सेवा केन्द्र तोमनडाँडामा सञ्चालन

गोरखा ।  गोरखाको गण्डकी गाउँपालिकाले तोमनडाँडामा मुख्य सेवा केन्द्र खोलेर सेवाप्रवाह सुरु गरेको छ । गाउँपालिकाले पालिकाभित्रका सबै वडाका नागरिकलाई पायक पर्ने गरी वडा नं ६ स्थित तोमनडाँडामा मुख्य सेवा केन्द्र आजदेखि सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष दीपक तिमिल्सेनाले जानकारी दिनुभयो ।

गाउँकार्यपालिकाको बैठकले मुख्य सेवा केन्द्र खोल्ने निर्णय गरेर सेवा केन्द्र सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । तोमनडाँडामा सेवा केन्द्र रहँदा राजमार्गबाट पनि नजिक पर्ने तथा पालिकाभित्रका सबै वडाबाट सार्वजनिक सवारी साधनमासमेत सजिलै आउजाँउ गर्न सकिने भएकाले तोमनडाँडामामै सेवा केन्द्र सुरु गरेको अध्यक्ष तिमिल्सेनाको भनाइ छ ।

“अहिले केन्द्र रहेको भुम्लिचोकमा सेवा लिन आउजाउका लागि नागरिकले हैरानी खेप्दै आउनुपरेको छ”, उहाँले भन्नुभयो, “यो ठाउँ पालिकाभित्रका सबै वडाबाट सुगम पनि पर्ने भएकाले प्रशासनिक काम यहीबाट सञ्चालन गर्ने गरी मुख्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो ।”

गाउँपालिकाले तत्कालका लागि विद्यालयको नाममा रहेको तर उपयोगमा नरहेको खाली भवनबाट सेवा केन्द्र सुरु गरेको अध्यक्ष तिमिल्सेनाले बताउनुभयो । मुख्य सेवा केन्द्रबाट गाउँपालिकावासीले सबै प्रकारका प्रशासनिक सेवा प्राप्त गर्ने उहाँको भनाइ छ । गएको शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले तोमनडाँडामा पालिकाको मुख्य सेवा केन्द्र खोल्ने निर्णय गरेको थियो ।-रासस

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको