चेपाङ समुदायले आज न्वागी पर्व मनाउँदै, चितवनलगायत जिल्लामा बिदा

चितवन ।  चेपाङ समुदायले आज न्वागी (छोनाम) पर्व मनाउँदै छन्।

यस अवसरमा चितवन, मकवानपुर, धादिङलगायत जिल्लामा बिदा दिइएको छ।

चेपाङ समुदायले मनाउने प्रमुख पर्व न्वागीको अवसरमा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक बिदा दिएको हो।

जिल्ला प्रशासन कार्यालय चितवनले पनि मंगलबार सूचना जारी गर्दै सार्वजनिक बिदाको जानकारी दिएको थियो।

चेपाङ समुदायको बसोबास बढी रहेका जिल्लाहरुमा चितवन, मकवानपुर, धादिङ र गोरखा पर्छन्।

चितवनका राप्ती, कालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा धेरै चेपाङ समुदायको बसोबास छ।

भरतपुर महानगरपालिकाको वडा नम्बर २९ (साविकको कबिलास गाविसमा) पनि यो समुदायको बसोबास उल्लेख्य छ।

नेपाल चेपाङ संघको पहलमा भदौ २२ लाई छोनाम पर्वको रूपमा मनाउन थालिएको हो। चेपाङहरू प्रकृतिको पूजा गर्छन्।

गिठा-भ्याकुर खाने उनीहरुको साइनो वनजङ्गलसँग राम्रोसँग गाँसिएको छ। भदौमा नयाँ अन्नबाली, फलफूल पाकेपछि यो पूजा गर्ने गरिन्छ। छोनामको दिन अन्नबाली र फलफूलले भूमिलाई पूजा गरी पितृलाई खुवाउने चलन छ।

चेपाङ समुदाय नयाँ अन्न र फलफूल पितृलाई नचढाइ खाएमा देउता रिसाउँछन् भन्ने धार्मिक मान्यता राख्छ। यो पर्वमा उनीहरु उब्जिएको अन्नले वर्षैभरी खान पुगोस् भनेर कामना गर्छन्।

छोनाममा चेपाङ झाँक्री(पान्दे)हरुले ढ्याङ्ग्रो ठोक्दै कुखुराको बली चढाउँछन्। यस दिन चेपाङहरु कुनै काम नगरी रमाइलो गर्छन्।

नाताकुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन्। setopati

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको