
चितवन । चितवनमा जापानिज इन्सेफलाइटिसको महामारी देखिएको छ । जिल्लाका ५ वटा पालिकामा एकै पटक नौ जनामा जापानिज इन्सेफलाइटिसको संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईका अनुसार २२ जना शंकास्पद बिरामी रहेका छन् । भरतपुर महानगरपालिकाका ४ जना, माडी नगरपालिकाका दुई जना, राप्ती, रत्ननगर र कालिकाका नगरपालिकाका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ । साउन २० गते पहिलो पटक भरतपुर र माडीमा संक्रमण पुष्टि भएको हो ।
संक्रमित मध्ये पाँच जना महिला र चार जना पुरुष रहेका छन् । उनीहरु २९ देखि ७५ वर्ष उमेर समूहका रहेका छन् । चालु आर्थिक वर्षमा नेपालमा ४५ जनामा जापानिज इन्सेफ्लाईटिस पुष्टि भएको छ, त्यस मध्ये १९ जना बागमती प्रदेशका हुन् भने ९ जना चितवनका रहेका छन् ।
निश्चित समय र भूगोलमा अनपेक्षित रुपमा अनुमानभन्दा बढी जापानिज इन्सेफलाइटिस संक्रमित देखिएमा त्यसलाई विश्व स्वास्थ्य संगठनले महामारीको परिभाषामा राखेको चापागाईले बताउनुभयो । जिल्लामा ९ जनामा प्रमाणित भएपछि समुदायमा २ हजार ७ सयमा संक्रमण रहेको छ भन्ने अनुमान गर्न सकिने उहाँको भनाई छ ।
जापानिज इन्सेफलाइटिस सन् १९७८ मा नेपालको रुपन्देही जिल्लामा पहिलो पटक देखा परेको थियो । जिल्लामा शंकास्पद बिरामीको स्क्रिनिङ गरी नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं पठाईने गरिएको उहाँको भनाई छ । चितवनमा सन् २०१८ मा १ जना, २०२० मा एक जना, २१ मा १ र सन् २२ मा (हाल) ९ जनामा यो रोगको संक्रमण देखिएको छ ।
बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, वान्ता हुने, बेहोस् हुने, शरीर काम्ने, घाँटी अररो हुने जापानिज इन्सेफलाइटिसका लक्षणहरु हुन् । जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो । यो लामखुट्टेले घोडा, सँुगुर, बंगुर, हाँस जस्ता पशुपक्षीलाई टोकेपछि मानिसलाई टोक्यो भने सर्दछ । तर मानिसबाट मानिसमा भने यो रोग सर्दैन ।
जापानिज इन्सेफलाइटिसबाट बच्नका लागि लामुखट्टको टोकाइबाट बच्ने र लामखुट्टे नियन्त्रण गर्ने उद्देश्य उपाय हो । त्यसैगरी बालबालिकालाई यो रोग विरुद्ध खोप लगाउने, संगुर, बंगुर, हाँस, घोडा जस्ता घरपालुवा जनावर व्यस्थित ढंगले पाल्ने, पशुपक्षीको खोर घरभन्दा टाढा राख्ने र सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनोजाली हाल्ने गर्नुपर्छ ।
जिल्लामा शंकास्पद बिरामीको स्क्रिनिङ गरी नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं पठाईने गरिएको उहाँको भनाई छ । चितवनमा सन् २०१८ मा १ जना, २०२० मा एक जना, २१ मा १ र सन् २२ मा (हाल) ९ जनामा यो रोगको संक्रमण देखिएको छ ।
जापानिज इन्सेफलाइटिस संक्रमण भएका ३३ प्रतिशतको मृत्यु हुने, ३३ प्रतिशत अपाङ्ग हुने र ३३ प्रतिशत निको हुने चिकित्सकहरुको भनाई छ ।