
चितवन । प्रहरीको नक्कली परिचय पत्र देखाएर आइसक्रिम तथा कुल्फी विक्री गर्ने भारतीय नागरिकलाई लुटपाट गरेको आरोपमा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कालिका नगरपालिका–८ जुटपानी–शक्तिखोर सडकखण्डको गैरिवारीचोकबाट ना ३५ प ६५२० नम्वरको स्कुटरसहित विशाल पौडेल र विजय महतलाई शनिबार पक्राउ गरिएको चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।
भदौ १८ गते बिहान करिब साढे ११ बजेको समयमा कालिका–८ गैरीवारीमा आईसक्रिम तथा कुल्फि बेच्दै हिँडेका भारतीय नागरिक ४७ वर्षीय विरेन्द्र साहलाई उनीहरुले ‘हामी प्रहरी हो’ भनि प्रहरीको नक्कली कार्ड देखाई धाकधम्की दिई नगद पाँच हजार ४०० रुपैयाँ डाँका गरी भागेका थिए ।
डाँका गर्ने मानिसको खोज तलास गर्ने क्रममा सोहि दिन साढे १ बजे आरोपितहरुलाई स्कुटर र प्रहरी सहायक निरीक्षक बिशाल पौडेल लेखिएको नेपाल प्रहरीको परिचय पत्रसहित प्रहरीले पक्राउ गरेको हो । निजहरूलाई चोरी तथा डाँका सम्बन्धि कसूरमा चितवन जिल्ला अदालतबाट ५ दिनको म्यादथप भई अनुसन्धान कार्य भइरहेको अधिकारीले बताए ।