
चितवन । नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका-२९, केराबारीस्थित मौरी पुलमा अहिले पनि पहिरो खसिरहेको छ । सो पहिरोका कारण आज बिहान करिब ५ बजेदेखि बाटो पुर्ण रूपमा अबरुद्ध भएको हो । मौरी पुलमा लेदोसहितको पहिरो खसेकाले बाटो अबरुद्ध भएको चितवन प्रहरीले जनाएको छ ।
सडक डिभिजन कार्यालय चितवन सँगको समन्वयमा पहिरो पन्छाउने काम भइरहे पनि अविरल बर्षाको कारण पहिरो पन्छाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता तथा डिएसपी नरहरि अधिकारीले जानकारी दिनुभयो। पहिरो र केदो धेरै खसेकोले पन्छाएर बाटो खुलाउन दिनभर लाग्न सक्ने उहाँले बताउनु भयो ।
साँघुरो मौरी पुल खोलाको ग्राभेलले भरिएपछि खोला सडकभन्दा माथिबाट बगिरहेको छ । बर्खाको समय भएकोले पानी पर्ने बित्तिकै मौरी पुलमा लेदोसहितको पहिरो खस्ने गरेको छ । सडक अबरुद्ध हुँदा सो बाटो भएर काठमाडौं, पोखरा, नारायणगढ तर्फ यात्रा गर्ने सयौं सवारी साधन र हजारौं यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन ।