
चितवन । भरतपुरमा भएको अन्तरविद्यालय स्काउट रनिङ शिल्ड नृत्य प्रतियोगितामा सनराइज स्कुल पहिलो भएको छ ।
अङ्कुरम् स्काउट ट्रुपको आयोजना तथा अङ्कुरम् एकेडेमी चितवनको सहयोगमा २० वटा विद्यालयको सहभागितामा भएको प्रतियोगिता ग्रिनल्याण्ड इङ्गलिस स्कुल दोस्रो र एकताशिशु निकेतन, रत्काननगरका विद्यार्थीहरुले तृतीय स्थान हासिल गरेका हुन् ।
पहिलो हुने समूहले १० हजार नगदसहित रनिङ शिल्ड प्राप्त ग¥यो भने दोस्रो हुनेले सात हजार ५०० र तृतीय हुनेले नगद पाँच हजार पुरस्कार राशी प्राप्त गरे । प्रतियोगितामा मुग्लिनदेखि माडी सम्मका २० वटा विद्यालयका करिब १४० विद्यार्थीको सहभागिता रहेको थियो ।
हरितालिका तीजको अवसर पारेर नेपाली कला र संस्कृतिको संरक्षणसँगै विभिन्न विद्यालयको स्काउट विद्यार्थीहरुको मित्रता कायम गर्ने उद्देश्यले कार्यक्रम गरिएको एकेडेमीकी परीक्षा प्रमुख सदिक्षा पौडेलले जानकारी दिइन् ।
प्रतियोगितामा बज्रयोगा तथा डान्स एकेडेमीका निर्देशक पुष्प श्रेष्ठ र अङ्कुरम् एकेडेमीका नृत्य प्रशिक्षक निरा गुरुङले निर्णायकको भूमिका निभाएका थिए । पठनपाठन साथसाथै अतिरिक्त क्रियाकलापलाई पनि अन्तर्राष्ट्रियस्तरबाट सञ्चालन गर्दै आइरहेको यस एकेडेमीले मासिक तथा वार्षिक रुपमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
अङ्कुरम् एकेमीका स्तर प्रमुख अर्जुन जिशर्माले सञ्चालन गरेको सो कार्यक्रमको प्रमुखअतिथि भरतपुर महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष एवम् सामाजिक समन्वय समितिका संयोजक परमेश्वर खनाल रहेका थिए । कार्यक्रममा प्याब्सन केन्द्रीय समितिका सदस्य मोहन लामा, स्काउट रोवर लिडर तथा स्काउटर सीएएलटी शिवप्रसाद बराल , एकेडेमीका कार्यकारी निर्देशक नवराज पौडेललगायतको सहभागिता रहेको थियो ।