काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० असोज घटस्थापनाका दिनबाट सुरु हुने बडापर्व दसैंलक्षित ५ हजार खसीबोका र च्यांग्रा ल्याउने भएको छ । जसमा २ हजार खसीबोका र ३ हजार च्यांग्रा छन् ।
दसैंमा बजार मूल्यभन्दा केही सहुलियत दरमा काठमाडौंका उपभोक्तालाई मासु आपूर्ति र बढ्दो बजारभाउ नियन्त्रण प्रयासमा सो कम्पनीले विगतका वर्षजस्तै यसपटक पनि करिब ५ हजार खसीबोका र च्यांग्रा काठमाडौं भिœयाउन लागेको हो ।
भदौ अन्तिम सातादेखि सहुलियत मूल्य पसल
अहिलेसम्म दसैंलगायत विशेष चाडपर्वलक्षित खाद्य वस्तु आपूर्ति र व्यवस्था मिलाउने जिम्मेवारी प्राप्त सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशका विभिन्न स्थानबाट खसीबोका र च्यांग्रा काठमाडौं ल्याउने तयारी गरेको छ ।
सो कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार विगतका वर्षको निरन्तरतास्वरूप यसपटक पनि राजधानी भिœयाइने खसीबोका र च्यांग्रा देशका विभिन्न ठाउँबाट खरिद गरी कम्पनीका डिपोमा संकलन तयारी सुरु भएको छ ।
दसैंमा काठमाडौं ल्याइने खसीबोका र च्यांग्रा खरिदका लागि अनुमानित करिब ६ करोड बजेट छुट्याइएको छ । यसमा अझै उपभोक्ताको माग आधारमा तलमाथि वा घटबढ हुन सक्ने न्यौपाने बताइन् ।
विगतका वर्षझैं लाहान, वीरगन्ज, मुस्ताङ, दाङ, तुलसीपुर, हेटौंडा र नेपालगन्जलगायत स्थानबाट खसीबोका र च्यांग्रा ल्याउने तयारी गरिएको छ । यी ठाउँबाहेक अझै उपलब्धताका आधारमा ‘कुन ठाउँबाट कति खरिद गरी ल्याउने ?’ भन्ने विषयमा गृहकार्य भइरहेको छ ।
तोकिएका ठाउँमा कम्पनीका कर्मचारीले खसीबोका खरिद गरेको र चलेकै मासुको बजारभाउअनुसार मूल्य निर्धारण हुने कम्पनीले जनाएको छ । ‘अहिले नै मूल्य यति पर्छ भन्न सकिन्न, हामीले खरिदका आधारमा मूल्य निर्धारण गर्नुपर्नेहुन्छ,’ न्यौपानेले भनिन्, ‘तर, खाद्यका खसीबोका र च्यांग्रा निजी व्यवसायीले ल्याएकाभन्दा केही सस्तो हुनेछ ।’
हाल, हरेक वस्तुमा बढेको बजारभाउको मार खेप्न बाध्य उपत्यकावासीलाई निजी क्षेत्रभन्दा केही सस्तोदरमा खसीबोका तथा च्यांग्रा उपलब्ध गराउने र बजारभाउसमेत नियन्त्रण गर्ने उद्देश्य कम्पनीको छ ।
दसैंका उपभोक्तालाई सहुलियत दरमा खसीबोका र च्यांग्रा मात्र नभएर खाद्य कम्पनीले काठमाडौंलगायत देशका विभिन्न स्थानमा दसैं–तिहार र छठपर्वलक्षित सहुलियत पसलसमेत सञ्चालनमा ल्याउने तयारी थालेको छ ।
कम्पनीले नजिकिँदै गरेको दसैं–तिहार, छठपर्वलक्षित सहुलियत मूल्य पसल भदौ अन्तिम सातादेखि नै सञ्चालनमा ल्याउने तयारी गरेको हो ।
कम्पनीका अनुसार सहुलियत पसलमा विभिन्न किसिमका चामल, दाल, अन्य गेडागुडीलगायत खाद्य वस्तु सहुलियत दरमा उपलब्ध हुनेछन् । फरकफरक प्रकारका उपभोक्ताको स्वाद र खरिद सामथ्र्य ध्यानमा राखेर कम्पनीले एउटै वस्तुका पनि धेरै किसिमका प्रकार उपलब्ध गराउँदै आएको छ ।
सहुलियत पसलमा चामलसँगै गेडागुडी, दाल, आटा, गहुँ, तेल, घिउ, चिनी, नुन, चिउरा, पिठो, माछा मासुलगायत उपलब्ध हुनेछन् ।
दसैंलक्षित सहुलियत पसल सञ्चालनका लागि सबै तयारी गरिसकेको जानकारी गराउँदै न्यौपानेले भनिन्, ‘उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुमति पाउनेबित्तिकै सहुलियत पसल देशभरका विभिन्न स्थानमा सञ्चालन हुनेछन् ।’ आजको राजधानी दैनिकमा समाचार छ ।