चितवनमा मह सङ्कलन तथा सूचना केन्द्र भवनको शिलान्यास

चितवन । चितवनमा मह सङ्कलन तथा मौरी सम्बन्धी सूचना केन्द्र भवनको शिलान्यास गरिएको छ । बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका राज्यमन्त्री सन्त बहादुर चेपाङले आइतबार भरतपुर महानगरपालिका वडा नम्बर १२ स्थित गोन्द्राङ्गमा उक्त भवनको शिलान्यास गरेका हुन् । मौरी पालक महासङ्घको केन्द्रिय कार्यालय समेत रहने गरी तीन तले भवनको शिलान्यास गरिएको महासङ्घले जानकारी दिएको छ ।

शिलान्यास कार्यक्रम गरेपछि बोल्दै राज्यमन्त्री चेपाङले राज्यलाई महमा आत्मनिर्भर बनाउन उन्मुख किसानहरूको यो भवनले थप व्यावसायिक बनाउन मद्दत पुग्ने बताउनुभयो । शिलान्यास गरेर निर्माण नगर्ने परिपाटी नेपालमा रहेको भन्दै यो भवन समयमै बनाउन आग्रह गर्नुभयो । भवन निर्माणमा कठिनाइ परे प्रदेश सरकारले आवश्यक रकम पनि छिट्टै विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

हाल उक्त भवनको गत बर्ष नै डिपिआर काम सकिसकिएको छ । कुल १ करोड ४० लाख अनुमान लागत लाग्ने उक्त भवनको लागि प्रदेश सरकारले ३० लाख र भरतपुर महानगरपालिकाले १५ लाख रकम दिइसकेको छ ।

ज्येष्ठ १५ भित्र आधा काम सकिए थप रकम प्रदेश सरकारले उपलब्ध गर्ने प्रतिबद्धता चेपाङले गरेका हुन् । उनले प्रदेश सरकारले मौरी बिमा तथा यस सम्बन्धी विशेष कार्यक्रम समेत ल्याउन लागिएको जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै पूर्व बाग्मती प्रदेश मन्त्री विजय सुबेदीले मह दिवसकै अवसर पारेर महासङ्घले भवन शिलान्यास गरेको भन्दै खेर जाने फलफूलको रसबाट मह उत्पादन गरेर स्वस्थ गुणस्तरीय मह उत्पादनमा नेपाली किसानले सहयोग गरेको बताउनुभयो । मह आयात कम गर्न नेपाली किसानको भूमिका उत्तिकै रहेको भन्दै मह उत्पादनको जिम्मा मात्र किसानलाई दिनु पर्ने बताउनु भयो ।

‘व्यावसायिक मह उत्पादन र गुणस्तरीय उत्पादनको लागि मात्र किसानलाई जिम्मा दिनुपर्दछ सुबेदी भन्नुभयो, प्रशोधन र बजारीकरणको जिम्मा राज्यले लिनुपर्छ ।’ मह उत्पादनमा नेपालमा प्रशस्त सम्भावना भएको भन्दै उहाँले रोयल जेली लगायत मौरीबाट अन्य औषधीजन्य बस्तु समेत उत्पादन गर्न सकिने बताउनु भयो ।

महासङ्घका केन्द्रिय अध्यक्ष शिवप्रसाद शर्माले केही बर्ष अगाडि किसानहरूकै सक्रियतामा १ कट्टा ५ धुर जग्गा किनेको जानकारी दिँदै उपलब्ध रकमले छिट्टै नै काम शुरु गरिने बताउनुभयो । मह उत्पादन व्यवस्थित, मर्यादित र एकद्धार प्रणालीबाट बिक्री वितरण गर्ने र यस सम्बन्धी सूचना, जानकारी, दिने उद्देश्यसहित भवन निर्माणको आवश्यकता रहेको उहाँको भनाई थियो । उहाँका अनुसार उक्त भवनको पहिलो तल्लामा देशभरिकै किसानको मह सङ्कलन केन्द्र, दोस्रो तल्लामा मौरी सूचना केन्द्र तथा प्रशासनिक भवन र तेस्रो तल्लामा तालिम केन्द्र तथा सभा हलको निर्माण गरिने छ ।

भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाहले देशकै केन्द्र भरतपुरमा यो भवन बन्न गइरहेको भन्दै आवश्यक सहयोग गर्ने बचनबद्धता व्यक्त गर्नुभयो । नेपालमा जल जमिन र जङ्गल प्रशस्त भएकोले मौरी किसानले अब आत्मनिर्भरमुखी नभई निर्यातमुखी भएर महको उत्पादन बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो । सो अवसरमा महासङ्घका पूर्व अध्यक्ष राजेन्द्र गौतम, पूर्व कोषाध्यक्ष गीता देवकोटाले मौरी किसानका समस्या बारे आफ्नो धारणा राखेका थिए ।

सो अवसरमा अन्य किसानले नक्कली महले नेपाली उत्पादन र वितरणमा असर परेको , चरनका अभावका कारण मौरीको विस्तार गर्न नसकिएको र प्रशासनका कारण मौरी चराउन स्थानान्तरण गर्दा झमेला बेहोर्नु परेको भन्दै एम्बुलेन्स सहितको सुविधा दिनुपर्ने भन्दै गुनासो गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको