नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाका १५ वटा वडा कार्यालय आफ्नै भवनबाट सञ्चालित छन् । नगरपालिकाका १८ मध्ये १५ वडा कार्यालय केही नयाँ भवन निर्माण तथा केही पुराना भवनलाई मर्मत गरेर आफ्नै वडाबाट सेवा प्रदान गरिरहेका नगरपालिकाले जनाएको छ ।
गैँडाकोटका नगरप्रमुख छत्रराज पौडेलले वडा ४, ५ र ६ को कार्यालय नगरपालिकाको पुरानो भवनबाट सञ्चालन गरिएको भए पनि अन्य वडामा आफ्नै भवनबाट सेवा प्रवाह भइरहेको बताउनुभयो । “हामी निर्वाचित भएर आएपछि वडावासीले आफ्नै वडाबाट सेवा लिन सकुन् भनेर काम अगाडि बढाइरहेको भए पनि कोभिडका कारण सोचेअनुसार प्रगति हासिल गर्न सकेनौँ”, नगरप्रमुख पौडेलले भन्नुभयो, “यद्यपि पछिल्लो पाँच वर्षमा हामीले सोचेको भन्दा बढी काम गर्न सकेका छौँ ।”
“नगरभित्रका सबै वडामा विद्युतीकरण गरिएको छ”, नगरप्रमुख पौडेलले भन्नुभयो, “नगर अस्पताल निर्माण र वडा तहमा स्वास्थ्य एकाइ निर्माणमा प्रगति हासिल गरेका छौँ ।” नगरप्रमुख पौडेलले नगरभित्रको शैक्षिक क्षेत्रमा पनि परिणाममुखी उपलब्धि हासिल गरेको बताउनुभयो । “विद्यालयमा खाजा कार्यक्रम र छात्रवृत्ति कार्यक्रमबाट सयौँ विद्यार्थी लाभान्वित भएका छन्”, नगरप्रमुख पौडेलले भन्नुभयो, “कार्यक्रम लागू भएपछि पढाइमा अब्बल भएका तर आर्थिक अवस्था कमजोर भएर बीचमै पढाइ छोड्नुपर्ने बाध्यताका विद्यार्थीलाई विद्यालयसम्म पु¥याउन सकेका छौँ ।”
यो अवधिमा नगरपालिकाभित्र ५० किलोमिटरभन्दा बढी सडकमा कालोपत्रे भएको उहाँको भनाइ छ । नगर उपप्रमुख विष्णुकुमारी कँडेलले जनताको घर आँगनबाटै सेवा प्रदान गर्नुपर्छ भन्ने मान्यताअनुसार वडा कार्यालय र स्वास्थ्य कार्यालय निर्माणलाई प्राथमिकता दिइएको बताउनुभयो । “धेरैभन्दा धेरै जनताको सेवा गर्नु हाम्रो दायित्व हो”, उहाँले भन्नुभयो, “नगरपालिकामा पर्याप्त कर्मचारी नहुँदा एउटै कर्मचारीलाई तीन वटासम्म वडा कार्यालय हेर्नुपर्ने अवस्था छ, यो विषयमा माथिल्लो सरकारसँग कुराकानी गरिरहेका छौँ ।” निजामती ऐन सङ्घ र प्रदेश सरकारमा यथास्थितिमा रहेका कारण कर्मचारी समायोजन र व्यवस्थापनमा समस्या भएको उपप्रमुख कँडेलले बताउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले कर्मचारीको अभावका बीच पनि जनताको सेवामा कुनै कमी हुन नदिएको बताउनुभयो । नगरपालिकाका कार्यालयमा अभाव भएको कर्मचारी पूर्ति गर्ने विषयमा मन्त्रालयमा कुरा पु¥याइएको रिजालले बताउनुभयो ।