पृथ्वी राजमार्गको पानीधारामा बस दुर्घटना: ३८ जना घाइते, तीनको अवस्था गम्भीर

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित पानीधारा भन्ने स्थानमा कांकडभिट्टाबाट काठमाडौँतर्फ गइरहेको बा ५ ख ७९४२ नम्बरको यात्रुबहाक बस आज बिहान करिब ९ः२० बजेको समयमा आफै अनियन्त्रित भई सडकमा पल्टिँदा ३८ जना घाइते भएका छन् । तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

सम्पर्कमा आएका घाइते मध्ये २५ जनाको फिस्लिङस्थित स्थानीय पोलिक्लिनिकमा उपचार भई रहेको चितवन प्रहरीका प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिए । उनीहरुको अवस्था सामान्य छ । बस चालकसहित छ जनाको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । एक जना यात्रुको अवस्था गम्भिर छ भने चालकको अवस्था मध्यम छ ।

पाँच जनालाई उपचारको लागि ललितपुरस्थित बिएण्डबी अस्पताल लगिएको छ । पाँचमध्ये दुई जनाको अवस्था गम्भीर, तीन जनाको मध्यम र दुई जनाको अवस्था सामान्य रहेको बुझिएको उनले बताए । सडकमा पल्टिएको बसलाई क्रेनको सहायताले हटाएर सडक दुईतर्फी खुला गरिएको उनले जानकारी दिए । घाइतेहरुको नामावली आउन बाँकी छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको