
चितवन । चितवनबाट पत्रकारिता क्षेत्रमा क्रियाशिल महिलाहरुले सहकर्मीहरुबाटै यौन हिंसा भोग्नुपरेको बताएका छन् ।
जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत उनीहरुले आफूलाई सिनियर भन्ने पत्रकारहरुबाटै पत्रकार महिलामाथि यौन हिंसा हुने गरेको बताएका हुन् ।
‘पत्रकार महिलाको आर्थिक अवस्था कमजोर छ भन्ने थाहा पाएपछि मोबाइल पैसा हालिदिने, सहयोग गर्ने नाममा सिनियर भनिएका दाजुहरुबाटै दुव्र्यवहार हुने गरेको छ’ पत्रकार पुजा परियारले भनिन्, ‘हामीमाथि कुदृष्टि राख्ने दाजुहरुलाई कसरी सार्वजनिक स्थलमा सम्मान गर्ने ?’
सोही कार्यक्रममा पत्रकार रविना पौडेलले भर्खरै पत्रकारितामा लागेका बहिनीहरुलाई मोटरसाइकलमा लिफ्ट दिने, समाचार लेख्न सिकाउने नाममा सहकर्मीहरुबाटै पनि यौनजन्य दुव्र्यवहार हुने गरेको बताइन् । ‘कतिपय पत्रकार साथीहरु आफ्नो समस्या कोसँग भन्दा न्याय पाइन्छ भन्ने पनि थाहा नपाएको अवस्था छ’ पत्रकार पौडेलले भनिन्, ‘समस्या भनिहाले फेरि काम गरिरहेको ठाउँबाटै पनि निकालिनुपर्ने हो कि भन्ने चिन्ताले पनि साथीहरुले समस्या सुनाउन पनि सकेका छैनन् ।’
प्रेस चौतारी नेपाल चितवन शाखाले जिल्लामा क्रियाशिल पत्रकार महिलाहरुसँग अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले दुव्र्यवहारसँगै पत्रकार महिलालाई पारिश्रमिकमा समेत विभेद रहेको गुनासो गरेका थिए ।
काम लगाइदिने नाममा सञ्चार संस्थाहरुले नियुक्तिपत्र नै नदिने र नियुक्तिपत्र दिएपनि लेखिएअनुसारको सेवा सुविधा नदिने गरेको उनीहरुले गुनासो गरेका थिए । नेपाल पत्रकार महासंघको तथ्यांक अनुसार जिल्लामा ६६ जना महिलाले पत्रकार महासंघको सदस्यता लिएका छन् । २०४७ सालदेखि जिल्लामा तत्कालिन पत्रकार संघ गठन भएपनि हालसम्म पत्रकार महासंघको अध्यक्ष महिला भएका छैनन् ।
तर, दलीय भागवण्डामा नपरेकै कारण १० वर्षभन्दा बढी पत्रकारितामा बिताएका महिलाहरुले पत्रकार महासंघको सदस्यता पनि नपाएको उनीहरुले बताएका थिए । पत्रकार महासंघले भनेअनुसारको कागजात पटक पटक कार्यालयमा बुझाउँदा पनि आफूले सदस्यता नपाएको पत्रकार दीपा गौतमले बताइन् । के कागजात नपुगेको भनेर कहिल्यै सोधखोज भएन उनले भनिन्, कागजात पूरा हुँदा पनि महासंघको सदस्यता भने पाइएको छैन ।
प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य प्रतिमा सिलवालले पत्रकार महिलाले पत्रकारितामा रहेको विभिन्न खाले चुनौतीको कारण पेशालाई स्थायित्व नदिने पत्रकारितामै रहेकाले पनि वैकल्पिक पेशा खोज्ने गरेको बताइन् । उनले पनि आफ्नो पेशागत जीवनका यौनजन्य हिंसा भोग्नुपरेको र पटक पटक प्रतिकार गर्दै अघि बढेको बताइन् ।
सिलवालले कार्यपत्र पेश गर्दै पत्रकार महिलाहरुलाई हिंसाजन्य व्यवहार मात्रै होइन पत्रकारकै पेशागत संगठनका नेतृत्वमा पनि स्वीकार नगर्ने प्रवृत्तिका कारण अझै पनि पेशागत साथै पत्रकारिताको नेतृत्वमा महिलाको अवस्था कम रहेको उल्लेख गरेकी थिइन् ।
चितवनमा चार वटा दैनिक पत्रिका नियमित प्रकाशित हुन्छ । तिमध्ये एक जनामा मात्रै महिला प्रकाशक छन् । १५ वटा साप्ताहिक पत्रिकामध्ये ३ वटामा प्रकाशक तथा सम्पादक तहमा महिला छन् । भने २० वटा रेडियो नियमित प्रशारणमा छन् । तिमध्ये २ वटामा मात्रै महिला सञ्चालक छन् । जिल्लाको पाँचवटा स्थानीय टेलिभिजनमा एक जना महिला सञ्चालक छन् भने ५० वटा अनलाइन समाचार पोर्टलमा ७ जना महिला सञ्चालक छन् ।
कार्यक्रममा बागमती प्रदेश सांसद रीना गुरुङले पत्रकार महिलाहरुमाथि अझै पनि यौन दुव्र्यवहार भोग्नुपर्ने अवस्थामा गम्भीर छलफल गर्नुपर्ने बताइन् । पत्रकार महिलाहरुमाथि हुने यौन दुव्र्यवहार नियन्त्रण गरी उनीहरुलाई पत्रकारितामा टिकाउन आफूले पहल गर्ने पनि उनको भनाइ थियो ।
सोही कार्यक्रममा पत्रकार महासंघकी केन्द्रीय सचिव सिर्जना अर्यालले हिंसा तथा दुव्र्यवहार नसहन अनुरोध गरिन् । साथै पत्रकारितामा नयाँ पुराना सबै महिलालाई चुनौती रहेको भन्दै उनले पत्रकार महासंघले पत्रकार महिलाका समस्या सम्बोधन गर्न पहल गर्ने बताइन् ।
कार्यक्रममा पत्रकार महासंघ चितवनकी उपाध्यक्ष प्रमिता ढकाल, प्रेस सेन्टरकी केन्द्रीय सदस्य शान्ता अधिकारी, मिडिया नेपाल चितवनका अध्यक्ष समीक्षा पुरी लगायतले आफ्नो भनाइ राखेका थिए । प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनकी उपाध्यक्ष शान्ता अधिकारीको अध्यक्षतामा छलफल कार्यक्रम सम्पन्न भएको थियो ।