
चितवन । रत्ननगरको टिकौली चौरमा जारी रत्ननगर महोत्सबमा सोमबार २२ हजारले अबलोकन गरेको आयोजकले दावी गरेको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा भएको महोत्सवको अबधि अन्तिम अन्तिममा आउदा अबलोकनकर्ताको संख्या बढ्दै गएको हो ।
सो महोत्सवमा दैनिक २० देखि २५ हजारको हाराहारीमा महोत्सव अबलोकनकर्ताहरु आएका छन् । कोरोना महामारीका कारण एक पटक स्थगित भएर फागुन १५ गतेबाट सुरु भएको सो महोत्सव मौसम प्रतिकुलताका कारण असफल हुने डर उत्तिकै रहेको थियो । हामीलाई मौसमले पनि साथ दियो संघका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक अनिलकृष्ण श्रेष्ठले भने यसले हामीलाई उत्साहित बनाएको छ ।
सो महोत्सवमा कृषि तथा पशुपालनको विकासको लागि आधुनिक औजारको प्रर्दशनी गरिएको छ । महोत्सवमा रहेका स्टालहरुबाट अपेक्षाकृत भन्दा बढी व्यापार भएको छ । व्यापार सोचे भन्दा बढी भएको छ संयोजक श्रेष्ठले भने अब लगभग महोत्सव पूर्णरुपमा सफल भएको अनुभूति भएको छ । कोरोनाका कारण सिथिल बनेको चितवनको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको संघका बरिष्ट उपाध्यक्ष शंकर गिरीले बताए । सो महोत्सव भोली अतार्थ फागुन २४ गते एक दिनका लागि थप गरिएको छ ।
नारी दिबसको अबसर पारेर महोत्सव एकदिनका लागि थप गरिएको र सो दिनमा महिलाहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको महासचिव निराजन खनालले बताए । महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत सोमबार गायक रविन लामिछाने,गायिका रिना केसीले प्रस्तुती दिएका थिए । मंगलवार गायक सुरेश लामा र गायिका अस्मिता अधिकारीको प्रस्तुती रहने कलाकार व्यवस्थापन समितिका संयोजक प्रकासमणि सापकोटाले जानकारी दिए ।