कांग्रेस चितवनको अधिवेशन आज

चितवन । नेपाल कांग्रेस चितवनको जिल्ला अधिवेशन आज बिहीबारदेखि नारायणगढस्थित नारायणी कला मन्दिरमा सुरु हुँदैछ । दुई दिनसम्म चल्ने अधिवेशनको पहिलो दिन आज निर्वाचन प्रक्रिया सुरु लागेको हो ।

निर्वाचन तालिका अनुसार बिहीबार बिहान ७ बजे मतदाता नामावली प्रकाशन हुनेछ । बिहान ८ देखि दिउँसो १ बजेसम्म उम्मेदवार मनोनयन दर्ताको कार्य चल्ने छ । दिउँसो १ः३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन, १ः३० बजेदेखि २ बजेसम्म दावी विरोध, २ः१५ बजे दावी विरोध पश्चात उम्मेदवारहरुको दोस्रो नामावली र २ः१५ देखि ३ः३० बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिने समय दिइएको छ ।

दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन र शुक्रबार बिहान ९ बजेदेखि मतदान प्रक्रिया अघि बढ्ने जिल्ला निर्वाचन समितिका संयोजक ज्ञानेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । यसपटक अधिवेशन उद्घाटन सत्र सामान्य रुपमा गर्न लागिएको छ । शुक्रबार बिहान मतदान अघि जिल्लामा उपलब्ध केन्द्रीय सदस्य र जिल्ला सभापति जीतनारायण श्रेष्ठले संयुक्त रुपमा अधिवेशनको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसलगत्तै अपरान्ह ५ बजेसम्म मतदान चल्ने छ । मतदान सकिएलगत्तै मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।

चितवन कांग्रेसको नयाँ नेतृत्वका लागि छ जना चुनावी मैदानमा छन् । डा. सूर्यकान्त घिमिरे, कैलाश कोईराला, उत्तम जोशी, विजय भुषाल, राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठले सभापतिमा प्रतिस्पर्धा गर्ने भएका छन् । संस्थापन अर्थात् सभापति शेरबहादुर देउवा पक्षबाट श्रेष्ठ सभापतिको उम्मेदवार छन् भने संस्थापन इतरबाट पाँच जना उम्मेदवार रहेका छन् । यसले गर्दा सभापतिको मतदान दोस्रो चरणमा जाने संभावना बढेर गएको छ । जिल्लामा संस्थापन इतरको पकड बलियो भए पनि उम्मेदवार संख्या धेरै हुँदा दोस्रो चरणको निर्वाचन हुने सम्भावना बढेको हो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको