रत्ननगर महोत्सव भोलीदेखि शुरु, बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री श्रेष्ठले उद्घाटन गर्ने

चितवन । रत्ननगर महोत्सव–२०७८ भोली (आइतवार) देखि शुरु हुँदैछ । महोत्सव तयारीको काम ९५ प्रतिशतभन्दा बढी पूरा भइसकेको आज महोत्सव स्थलमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिईएको हो । ‘रत्ननगर महोत्सव हाम्रो पहिचान, व्यावसायिक कृषि र पर्यटन प्रवर्धन हाम्रो अभियान’ मूल नाराका साथ शुरु हुने महोत्सवको बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मिलनबाबु श्रेष्ठले उद्घाटन गर्ने महोत्सव मूल आयोजक समितिका संयोजक अनिल कृष्ण श्रेष्ठले जानकारी दिए ।

महोत्सव स्थल टिकौली चौरमा ११औँ श्रृङ्खलाको रत्ननगर महोत्सवको भोली उद्घाटन गर्ने तयारी छ । विभिन्न जातजाति, धार्मिक, साँस्कृतिक, शैक्षिकलगायत संघसंस्थाको सहभागितामा बाजा र झाँकीसहितको शोभायात्रा रत्ननगरको नेपाल माविको प्राङ्गढबाट शुरु हुनेछ । रत्ननगर महोत्सवमा पुग्ने अवलोकनकर्ताहरुले यसपालि विगतका महोत्सव भन्दा फरक अनुभव गर्नेछन् । महोत्सवमा कृषि र पर्यटन प्रवर्धनलाई विशेष जोड दिइएको छ । कृषक तथा कृषि पेशा अपनाउन चाहनेहरुका लागि वृहत व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिताले आकर्षण र उत्साह जगाउने छ । रत्ननगर महोत्सव फागुन १५ देखि २३ गतेसम्म ९ दिन सञ्चालन हुनेछ । महोत्सवले चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरण गराउने प्रमुख उद्देश्य लिएको महोत्सव मूल आयोजक समितिका संयोजक श्रेष्ठले बताए ।

महोत्सव संयोजक श्रेष्ठ भन्छन्– ‘महोत्सवको सम्पूर्ण तयारी भईसक्दा समेत कोरोनाको तेस्रो लहरका कारण महोत्सव स्थगित गर्न पर्दा उद्योग वाणिज्यले ठूलो क्षति बेहोर्नु परेको छ ।’ कोरोना महामारीको समयमा मानव स्वास्थ्यसंग खेलवाड गर्न नचाहेकाले जिल्ला प्रसासन कार्यालय चितवनको निर्णय मान्दै महोत्सव स्थगित गरेको श्रेष्ठले बताए । महोत्सवमा ३५० कक्ष रहने छन्। ती स्टलमा गरिने प्रदर्शनीले उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवर्धन, स्थानीय कला, संस्कृतिको प्रदर्शन र स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवम् सेवाको परिचय गराउन सक्षम हुने आयोजकको विश्वास छ । महोत्सव ३ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र १५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको संयोजक श्रेष्ठले बताए । महोत्सवमा बृहत व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, पर्यटन प्रवर्धनका विभिन्न कार्यक्रम तथा बालबालिकाका लागि फनपार्कसमेत रहेका छन् ।

महोत्सव परिसरमै जीपलाइन एडभान्चको व्यवस्थासमेत मिलाइएको रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ अपाध्यक्ष शंकर गिरीले बताए । महोत्सव प्रवेशका लागि ५० रुपैयाँ र विद्यार्थीलाई २५ रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । जेष्ठ नागरिक तथा फरक क्षमता भएका नाकगरिकलाई परिचयपत्रका आधारमा निःशुल्क महोत्सव अवलोकन गर्न पाइने व्यवस्था मिलाइएको छ । त्यसैगरी, महोत्सवमा राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुद्वारा मनोरञ्जनात्मक साङ्गीतिक प्रस्तुती अवलोकनकर्ताहरुका लागि थप आकर्षण रहने गिरीले बताए । महोत्सव उद्घाटनको अन्तिम तयारीमा पुगेको समयमा कोभिड महामारीका कारण स्थानीय प्रशासनले २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रममा रोक लगाएसँगै उद्घाटनको अघिल्लो दिन गत पुस २६ गते महोत्सव स्थगित भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको