चितवन । जिल्लाका अधिकांश क्षेत्रको माटोमा अम्लियपना बढी देखिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई चितवनले यही फागुन ४ र ५ गते गरेको माटो परीक्षणका क्रममा अम्लियपना बढेको पाइएको हो ।
परीक्षणका क्रममा ५० प्रतिशत माटोमा अम्लियपना भेटिएको कार्यालयका सूचना अधिकारी माधव पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार २५८ नमूना परीक्षण गरिएकामा १२९ वटामा अम्लियपना भेटिएको हो । माटोमा अम्लियपना बढी भए उर्वराशक्तिमा ह्रास आएको परीक्षणका क्रममा भेटिएको छ । माटोको परीक्षणमा एकदेखि १४ सम्म पिएच हुनेगर्छ । त्यसमध्ये ७ तटस्थ हो । सातभन्दा तल देखिएमा अम्लियपना र माथि भएमा छारिय भनिने उहाँको भनाइ छ । ६ पिएच सम्मलाई धानखेतीमा राम्रो मानिन्छ । किसानले बालीमा जथाभावी रासायनिक मल र विषादीको प्रयोग गर्दा माटोमा अम्लियपना बढेको उहाँले बताउनुभयो ।
यस्तै ५० प्रतिशत माटोमा प्राङ्गारिक पदार्थको कमी देखिएको पौडेलले बताउनुभयो । माटोमा अम्लियपन र क्षारीय तत्व बढेमा बालीनालीले प्राप्त गर्ने तत्वको कमी हुने र माटोको सूक्ष्म तत्व गुम्ने हुन्छ । विशेष गरी व्यावसायिक खेती गर्ने किसानले अव्यवस्थित रुपमा रासायनिक मलको प्रयोग गर्दा माटोको उत्पादकत्व कम हुने उहाँले बताउनुभयो । उत्पादन क्षमता कायम राख्दै उत्पादन बढाउन नियमित माटो परीक्षण गराउँदै चुन र प्राङ्गारिक मलको प्रयोग बढाउनुपर्ने पौडलले बताउनुभयो ।
स्थानीय तहले समन्वय गरेर नियमित रुपमा माटो परीक्षण गर्नुपर्ने पौडेल बताउनुहुन्छ । किसानले सिफारिस अनुसारको मात्रा प्रयोग नगर्दा माटोमा अम्लियपना बढेको उहाँले बताउनुभयो । उत्पादकत्व घट्दै गएपछि प्रधानमन्त्री कृषि आधुनिकिरकण परियोजना कार्यान्वयन एकाइ चितवनले घुम्ती शिविरको आयोजना गरेको हो ।
कार्यालयले भरतपुर महानगरपालिकाका विभिन्न वडामा तरकारी खेती, पूर्वी चितवनमा केरा खेती र धान खेती गरिएका क्षेत्रको माटोको नमूना परीक्षण गरिएको थियो । जिल्लाका सातवटै पालिकाबाट माटोको नमूना सङ्कलन गरिएको पौडेलले बताउनुभयो । मल तथा माटो परीक्षण प्रयोगशालाको प्राविधिक सहयोगमा गरिएको सो परीक्षणमा नाइट्रोजन मध्यम, फस्फोरस उच्च र पोटास मध्यम देखिएको छ ।