चितवन । चितवनमा नक्कली पिसिआर रिपोर्ट बनाउने दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा देव हस्पिटलमा कार्यरत हेल्थ असिस्टेन्ट सन्दिप सापकोटा र रत्ननगर नगरपालिका–६ बस्ने प्रकाश न्यौपाने रहेका छन। उनिहरुलाई जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई अनुसन्धान गरिरहेको चितवन प्रहरीले जनाएको छ ।
उनिहरुलाई २५ माघमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनकी प्रहरी निरीक्षक कमला नरालले बताइन् ।
देव हस्पिटलमा २५ माघमा एउटा अपरेशन गर्नुपर्ने विरामीको पिसिआर नक्कली भेटिएपछि यस्तो धन्दाको विषय बाहिर आएको हो । ‘देव हस्पिटलमै काम गर्नेले विरामीको स्वाब तानेर न्यौपाने भन्नेलाई दियो । उसले चाँहि नक्कली पिसिआर बनाएर दिएको देखिएको छ । त्यहि विषयमा अनुसन्धान गर्न पक्राउ
गरिएको हो’, उनले भनिन् ।
अपरेशन गर्नुअघि चिकित्सकले पिसिआर गर्न भनेर एउटा चिट दिए । उनीहरु दुई जना मिलेर आफुखुसी रिपोर्ट बनाएर दिने गरेको पाइएको छ । नक्कली पिसिआर बनाउने स्थानको पनि पहिचान भइनसकेको उनले बताइन् ।
रत्ननगरका न्यौपानेले कोरोना महामारीको पहिलो र दोस्रो चरणका बेला भरतपुर अस्पतालको ल्याबमा काम गर्ने गरेको पाइएको छ । ‘त्यसपछि उनले त्यहाँ काम छाडेको र विभिन्न अस्पतालसँग सम्पर्क राखेर स्वाबहरु ल्याएर परीक्षण गर्ने र नक्कली पिसिआर बनाउने गरेको भन्ने बुझेका छौँ’, उनले भनिन् ।
उनीहरुको साथबाट अरु नक्कली पिसिआर भने फेला नपरेको उनको भनाइ छ । नक्कली पिसिआर बनाउने काममा देव हस्पिटलकै संलग्नता रहे÷नरहेको भन्ने विषयमा पनि अनुसन्धान भइरहेको उनले जानकारी दिइन् ।