काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
विभागले आज बुधबार राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजानिक गर्दै २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको जनाएको हो ।
प्रारम्भिक तथ्यांक अनुसार नेपालको संघीय राजधानी काठमाडौंमा सबैभन्दा बढी जनसंख्या बसोबास गर्ने गरेको पाइएको छ । काठमाडौंमा २० लाख १७ हजार जनसंख्या बसोबास गर्ने गरेको विभागले उल्लेख गरेको छ ।
यसपछि, नेपालका ७७ वटा जिल्लामध्ये हिमाली जिल्ला मनाङमा सबैभन्दा कम जनसंख्या बस्ने गरेको पाइएको छ । मनाङमा जम्मा ५ हजार ६४५ जना मात्र बसोबास गर्ने गरेको पाइएको विभागले जानकारी दिएको छ ।
गणकले भरेका मुख्य प्रश्नावलीमा उल्लिखित विवरणका आधारमा प्रारम्भिक नतिजा सार्वजनिक गरिएको विभागले जनाएको छ । आगामी ६ महिनाभित्र विस्तृत नतिजा सार्वजनिक गर्ने विभागको योजना रहेको छ । तर कोरोनाका कारण थप समय लाग्ने अनुमान गरिएको विभागले जनाएको छ।
जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत भदौ ३० देखि असोज १८ गते सम्म गरिएको थियो भने कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मुख्य जनगणनाको काम गरिएको थियो ।