माघे संक्रान्तिको अबसरमा चेपाङ बालबालिकालाई “नेवारी खाना” 
चितवन । पुर्वी चितवनको रत्ननगर-१०, मंगलपुरमा रहेको गामबेसीको चेपाङ संरक्षण केन्द्र (चेपाङ छात्रबास) मा आश्रित चेपाङ विद्यार्थीहरुलाई माघे संक्रान्तिको अबसरमा नेवारी खाना खुवाईएको छ । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था तथा सुकुल रेस्टुरेन्ट रत्ननगर-१, सौराहाचोकको आयोजनामा चेपाङ बालबालिकाहरुलाई सांस्कृतिक नेवारी भोज (लप्ते भ्वये) गराईएको हो ।
चेपाङ समुदायलाई पनि नेवारी भोजको बारेमा जानकारी दिलाउन यस प्रकारको कार्यक्रम गरिएको सहकारी कि सौराहा चोक शाखा प्रमुख जुलि भट्टले जानकारी दिनु भयो । सहकारीको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आज चेपाङ बालबालिकालाई विभिन्न १५ प्रकारका परिकार खुवाईएको शाखा प्रमुख भट्टले बताउनु भयो ।
सो सहकारीले हाल सौराहाचोकमा गार्डेन मार्ट पनि संचालन गर्दै आएको छ । सो मार्ट परिसरमा नै सहकारीले आगामी १ महिना भित्र पहिलो नेवारी सुकुल रेस्टुरेन्ट समेत संचालन गर्दै छ । देशको विभिन्न स्थानमा यस प्रकारको रेस्टुरेन्ट खोल्ने योजना समेत रहेको भट्टले बताउनु भयो । सो रेस्टुरेन्टमा भक्तपुरे नेवारी खाना पाइने उहाँले बताउनु भयो ।
हाल सो सहकारीको देशभर २४ वटा ग्राहक सेवा केन्द्र, १५ वटा गार्डेनमार्ट समेत संचालनमा रहेको छ ।  सो अबसरमा चेपाङ केन्द्रका अध्यक्ष केपी किरण शर्मा, सो सुकुल रेस्टुरेन्टका प्रमुखद्वय  आर्जित खडका र दिपक श्रेष्ठ, सहकारीकि सदस्य राधा गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
सो चेपाङ केन्द्रमा चितवनको पहाडी बिपन्न बस्तीका २ सय चेपाङ बालबालिका आवासिय रूपमा रही अध्ययन गरिरहेका छन । केन्द्रको दिगो आम्दानीको श्रोत नहुँदा बिपन्न चेपाङ विद्यार्थीहरुलाई पढाउन र आवासीय रूपमा ब्यबस्थापन गर्न सहयोगी दाताहरुकै भर पर्नुपरेको केन्द्रका अध्यक्ष शर्माले बताउनु भयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको