
चितवन । कालिका नगरपालिकाको आर्थिक वर्ष २०७८/७९ को प्रथम सार्वजनिक सुनुवाई आइतबार गरिएको छ । चालु आर्थिक वर्षमा नगरपालिकाले गरेको कार्यसम्पादन र नगरबासीको मागलाई सम्बोधन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाई गरिएको हो ।
कार्यक्रममा नगरबासीहरुले विकास निर्माणको काममा फड्को मारेको कालिका नगरपालिकाले सार्वजनिक महत्वका विषयमा काम गर्न ढिलाई गरेको भन्दै गुनासो गरेका थिए । नगरबासीहरुले विकास निर्माणमा गुणस्तर सुधार र फोहोर व्यवस्थापनको विषयलाई प्राथमिकताका साथ उठाएका थिए ।
भौतिक पूर्वाधार निर्माणमा ठेकेदारले लापरबाही गर्ने गरेको भन्दै नगरबासीहरुले त्यसको प्रभावकारी अनुगमन हुन नसकेको गुनासो गरे । कार्यक्रममा सहभागीहरुले नगरभित्रका संघसंस्थाको अनुमगन, सडकबत्ती मर्मत, टोल विकास संस्थाको परिचालनलगायतका विषयमा जनप्रतिनिधिहरुलाई प्रश्न गरेका थिए ।
कार्यक्रममा तेजबहादुर नेपाल, अनन्तराम चौधरी, लीलाधर पौडेल, छबीलाल श्रेष्ठ, मनिष पुरी लगायत ११ जनाले जनचासोको विषयमा प्रश्न गरेका थिए । कार्यक्रममा मेयर खुमनारायण श्रेष्ठ, उपमेयर कमलादेबी भट्टराई, प्रमुख प्रशासकीय अधिकृत अच्युतराज रेग्मी, वडाध्यक्षहरु टीका रिजाल, कृष्णकुमार श्रेष्ठ, डिल्लीराम दुवाडी, इमप्रसाद अधिकारी, हेमबहादुर डल्लाकोटी, दिल बहादुर गुरुङ, कृष्णबहादुर प्रजालगायतले नगरबासीले गरेको प्रश्वको जवाफ दिएका थिए ।
नगरबासीको पश्नको जवाफ दिँदै मेयर श्रेष्ठले आन्तरिक श्रोत कम भएका कारण विकास निर्माणको काममा केन्द्र र प्रदेश सरकारको भर पर्नु परेको बताए । नगरबासीको गुनासो जायज रहेको भन्दै उनले कमजोरी पत्ता लगाएर सुधार प्रतिबद्धता व्यक्त गरे ।