रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा, ९० प्रतिशत काम सकियो

चितवन । पूर्वी चितवनको टिकौलीचौरमा आयोजना गरिएको रत्ननगर महोत्सव–२०७८ को तयारी अन्तिम चरणमा पुगेको छ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा यही पौष २७ गते देखि माघ ८ गते सम्म महोत्सवको ११औं संस्करण हुँदैछ ।

महोत्सवको ९० प्रतिशत काम सकिएको मुल व्यवस्थापन समितिका संयोजक तथा संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले जानकारी दिए । यस वर्षको महोत्सवको मुख्य आर्कषण साइकलिङ, जीप लाइन र राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता रहेको छ । यस पटकको महोत्सवमा समृद्ध नगर, बृहत रत्ननगरको अवधारणा अगाडि बढाइएको संघका अध्यक्ष श्रेष्ठले बताए ।

हरेक दुई/र्दुइ वर्षमा आयोजना हुने यस रत्ननगर महोत्सवले समग्र जिल्ला तथा विशेषगरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार, व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादनलाई जोड दिएको छ ।

कोरोना महामारीको कारण सिर्जना भएको आर्थिक, सामाजिक प्रतिकुलता र बिषम परिस्थितिका बीच नेपाली अर्थतन्त्रको बृद्धि र पुनरोत्थानको राष्ट्रिय एजेन्डा कार्यन्वयनमा महोत्सवले सघाउने अपेक्षा गरिएको छ । महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुर्राष्ट्रिय गरि करिब ३५० स्टलहरु रहने संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरीले बताए ।

महोत्सवमा तीन लाख भन्दाबढी दर्शकहरुले अवलोकन गर्ने र करीब १५ करोडभन्दा बढिको कारोबार हुने अनुमान गरिएको गिरीले जानकारी दिए । कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि महोत्सवमा व्यावसायिक कृषि प्रर्दशनी तथा प्रतियोगिता, ताजा तरकारी, थोपा सिंचाई प्रविधि, केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसंगै चितवनमा प्रवल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिइएको छ ।

महोत्सवअन्तर्गत पौष २९ देखि ३ गतेसम्म पाँच दिन रत्ननगरको टांडी बजारमा विभिन्न जनजातीहरुको विशेष खाना, उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन उपभोगका लागि मासुका विशेष परिकारसहित चौथौं पटक चिकेन एण्ड एग फुड फेष्टिबल आयोजना गरिएको छ । फेष्टिबलको काम करिब ७० प्रतिशत सकिएको वरिष्ठ उपाध्यक्ष गिरीले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको