चितवन । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री राम बहादुर थापा बादलले देशमा अर्लि इलेक्सनको सम्भावना बढेको बताउनुभएको छ ।
नेकपा एमाले रत्ननगर नगर कमिटीको दोश्रो पूर्ण बैठक एवम् स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष बादलले संघ, प्रदेश र स्थानीय तहको एकैपटक निर्वाचन हुन सक्ने बताउँदै सो अर्लि इलेक्सनको तयारी अवस्थामा रहन एमाले कार्यकर्ताहरूलाई निर्देशन समेत दिनुभयो ।
निर्वाचन एउटा आन्दोलन र अभियान भएको भन्दै उहाँले नेकपा एमालेलाई बहुमत सहितको ठूलो पार्टी बनाउन कसैले रोक्न नसक्ने समेत दावी गर्नुभयो । एमालेको १०औँ महाधिवेशनमा नारायणी नदी किनारमा ओर्लिएको जनसागरले एमाले सरकारले गरेको जनमुखी कामको जनसमर्थन भएको समेत बताउनुभयो ।
कार्यक्रमका एमालेका अर्का उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले यही पुष ६ गते हुने संसदको अधिवेशनमा एमसीसी सम्झौताको प्रस्ताव टेबुल हुन सक्ने बताउनुभएको छ । यदी एमसीसी सम्झौताको सन्दर्भमा प्रस्ताव टेबुल भएमा सरकारको समिकरण समेत अदलबदल हुन सक्ने उहाँले बताउनुभयो ।
एमाले उपाध्यक्ष पाण्डेले पार्टीको १०औँ महाधिवेशनमा देखिएको जनलहर र जनउपस्थिति देखेर कांग्रेस, माओवादी अताल्लिएको समेत बताउनुभयो । देशकै सबैभन्दा ठूलो राजनीतिक शक्ति एमाले भएको र फेरी पनि बहुमत सहित एमाले देशकै ठूलो पार्टी हुने पनि बताउनुभयो । देशमा कुनै पनि समयमा निर्वाचन हुन सक्ने भएकाले सम्पूर्ण पार्टी कमिटी निर्वाचनको सामना गर्न तयारीका साथ रहन पनि उहाँले आग्रह गर्नुभयो ।
चितवन घर भई नेकपा एमालेको केन्द्रीय कमिटीमा निर्वाचित पार्टी पदाधिकारी तथा सदस्यहरूलाई सो कार्यक्रममा नगर कमिटीको तर्फबाट सम्मान समेत गरिएको थियो । पार्टी उपाध्यक्षमा विजयी राम बहादुर थापा बादल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्यहरू काशीनाथ अधिकारी, देवी ज्ञवाली, जे.एन. थपलिया, कपिलदेव पोख्रेल, प्रभा बराल, पार्वती रावल, बालिका गिरीलाई सम्मान गरिएको हो ।
साथै सोही कार्यक्रममा नेकपा समाजवादी निकट युवा संघ रत्ननगर १५ का अध्यक्ष रामहरि अधिकारी एमाले पार्टीमा प्रवेश गरेका छन् । लामो समय नेकपा एमालेमै रहेका अधिकारी पार्टी विभाजनको क्रममा नेकपा समाजवादीमा आवद्ध हुन पुगेका थिए ।
नेकपा एमाले रत्ननगर नगर कमिटी अध्यक्ष ईश्वरी प्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष पार्वती रावल, जिल्ला कमिटी सचिवालय सदस्य तथा रत्ननगर इन्चार्ज यादव प्रसाद पाठक लगायतले कार्यक्रममा आ–आफ्नो भनाइ व्यक्त गर्नुभएको थियो ।