
किशोर दुवाडी, चितवन । पूर्वी चितवनको कालिका वडा नं. ६ जमुनापुरमा रहेको जमुनापुर मा.वि.ले आगामी माघ १३, १४ र १५ गते विद्यालयको स्वर्णजयन्ती मनाउने भएको छ । विद्यालय स्थापनाको ५० वर्ष पुरा भएको उपलक्ष्यमा सो स्वर्ण महोत्सव मनाउन लागिएको हो ।
विद्यालयमा शुक्रबार आयोजित भेलाले सो स्वर्ण महोत्सव मनाउने निर्णय भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम प्रसाद अमगाईले जानकारी दिनुभयो । विद्यालयको स्वर्ण महोत्सवको अवसर पारेर विविध खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, सम्मान तथा पुरस्कार वितरण कार्यक्रमहरू समेत गरिने विद्यालयकी प्राचार्य गिता न्यौपानेले जानकारी दिनुभयो ।
सो भेलाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम प्रसाद अमगाईको अध्यक्षतामा १ सय ५१ सदस्यीय स्वर्ण महोत्सव मूल समिति समेत गठन गरेको छ । सो भेलामा स्थानीय जनप्रतिनिधिहरू, समाजसेवीहरू, विद्यालयका पूर्व अध्यक्षहरू, अभिभावकहरू, शिक्षकहरू तथा स्थानीयहरूको सहभागिता रहेको थियो ।