गोरखामा एक सुत्केरीको मृत्यु

गोरखा । गोरखामा एक सुत्केरीको मृत्यु भएको छ ।

चुमनुब्री गाउँपालिका–६ चुम्चेतकी २५ वर्षीया हिसे डोमा लामाको समयमा उद्धार हुन नसक्दा बिहीबार मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष कुमारी गुरुङले जानकारी दिनुभयो । उद्धारका लागि गएको हेलिकप्टर नपुग्दै उनको मृत्यु भएको उहाँले बताउनुभयो ।

बुधबार राति सुत्केरी भएकी लामाको सालनाल नझरेपछि हेलिकप्टरमार्फत उद्धारका लागि गाउँपालिकाले बिहीबार करिब १२ः३० जिल्ला प्रशासन कार्यालयमा खबर गरेका थिए । सुत्केरीको उद्धारका लागि महिला, बालबालिका तथा जनसङ्ख्या मन्त्रालयले करिब ३ बजे नेपाली सेनाको हेलिकप्टर पठाएको थियो । तर हेलिकप्टर नपुग्दै उनको मृत्यु भएको उपाध्यक्ष गुरुङले बताउनुभयो ।

उद्धार प्रक्रिया पनि झण्झटिलो भएकाले समयमा हेलिकप्टर झिकाउन नसकिएको उहाँको भनाइ छ । “प्रक्रिया पूरा गर्दैमा चार घण्टा जति बित्यो होला”, उहाँले भन्नुभयो, “सबै निकायबाट जतिसक्दो छिटो प्रयास गरेको भए पनि सुत्केरी बचाउन सकिएन ।” बाक्लो हुस्सुका कारण मन्त्रालयले पठाएको हेलिकप्टरसमेत अवतरण गर्न समस्या भएकाले पनि उद्धारमा थप ढिलाइ हुँदा सुत्केरीको ज्यान गएको उहाँको भनाइ छ ।

सडक सञ्जालसँग नजोडिएको उत्तरी गोरखाको सो गाउँपालिकामा प्रसव व्यथा लागेका महिलालाई हेलिकप्टरमार्फत सुत्केरी गराउन काठमाडौँ पठाउनुको अर्को विकल्प छैन ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको