सुनसान शिवालय: देखिएनन् भक्तजन

म्याग्दी। विगतका वर्षमा साउने सोमबार म्याग्दीको गलेश्वर मन्दिरमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दथ्यो ।

बेनी शिवालयसहित जिल्लाका विभिन्न ठाउँस्थित देवालयमा पूजा गर्ने र कालीगण्डकी नदीमा स्नान गर्नेको ठेलमठेल हुन्थ्यो तर यसपालि भने त्यस्तो देखिएन । असारको पहिलो सातादेखि कम हुँदै गएको कोरोना सङ्क्रमण साउन शुरु भएदेखि पुनः बढ्न थाल्नु, किसानलाई रोपाइँको चटारो हुनु, यातायातका साधन पनि राम्रोसँग सञ्चालन हुन नसक्नु र निषेधाज्ञा कायमै रहनु जस्ता कारणले गर्दा देवालय वा शक्तिपीठमा भक्तजनको उपस्थिति नदेखिएको हो ।

म्याग्दीको बेनी, गलेश्वरलगायत ग्रामीण क्षेत्रका कुनै पनि शिवालय र शक्तिपीठहरुमा भक्तजन देखिएका छैनन् । दिनभर पूजाआजाका लागि भक्तजनको भीडभाड हुने यहाँका शिवालय र शक्तिपीठ अहिले सुनसान जस्तै छन् । मन्दिरमा पुजारी र मन्दिर व्यवस्थापन समितिका पदाधिकारीबाहेक अरु व्यक्तिको उपस्थिति न्यून रहेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले बताउनुभयो ।

सोमबारकै दिन म्याग्दीका ग्रामीण भेग र पर्वत, बागलुङ तथा पोखराबाट गाडी लिएर वा बसमा चढेर पूजाआजाका लागि गलेश्वरमा आउने भक्तजनका कारण यहाँका मन्दिर नजिकका पर्यटकीय क्षेत्र भरिभराउ हुन्थे । बजारको व्यापार र होटल तथा यातायात व्यवसाय पनि चलायमान हुन्थ्यो । महिला हातभरी हरिया चुरा तथा उस्तै रङका पहिरनमा सजिएर बजारमा डुल्ने गर्दथे । बजारमा हरिया चुरा र पूजा सामग्रीको अत्याधिक व्यापार हुन्थ्यो तर गत वर्ष र यस वर्षको दोस्रो सोमबारसम्म बजारमा पनि त्यस्तो कुनै रौनक नदेखिएको स्थानीय व्यवसायी पार्वती घिमिरेले बताउनुभयो ।

कोरोना महामारीले शैक्षिक, आर्थिक, सामाजिक विकासलगायत अन्य धेरै क्षेत्रमा झैं धार्मिक र सांस्कृतिक क्षेत्रमा पनि गम्भीर असर पारेको बेनी शिवालय क्षेत्र विकास समितिका सुन्दरकुमार केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्दिर तथा शक्तिपीठ प्रचारप्रसारले मात्रै नभएर भक्तजनको उपस्थितिले सञ्चालन हुने हुन् । जति धेरै मानिसले मन्दिरमा पूजाआजा र दर्शन गर्छन्, त्यति नै बढी मन्दिर तथा देवालयहरुको महत्व बढ्दै जान्छ । तर पोहोर साल र यस वर्ष कोरोना महामारीका कारण मन्दिरहरु पनि सुनसान नै बने ।”

आज साउनको सोमबार- शिवालय बन्द, भक्तजन अलपत्र
साउन महिनाको दोस्रो सोमबार पशुपतिनाथलगायत देशभरका शिवालय बाहिर भक्तजनको भीड लागे पनि धेरैले मन्दिरभित्र प्रवेश गरेर दर्शन एवं पूजा आराधना गर्न पाएनन् । पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि खुला नगरिएपछि भक्तजन बाहिरी क्षेत्रका शिवालयमा दर्शन एवं पूजा आराधना गरेर फर्किएका छन् ।

नयाँ भेरियन्टसहितको कोरोना महामारी कम हुँदै गएको भन्दै सार्वजनिक यातायातलगायत अन्य सबैजसो क्षेत्र खुला गरिसकिएको अवस्थामा मन्दिर पनि खुला गरिनुपर्ने भक्तजनको माग छ । साउन महिना र सोमबार शिवको महिना एवं बार भएकाले दर्शन तथा आराधनाका लागि दैनिक लाखौँ भक्तजन पशुपति क्षेत्र आउने परम्परा छ । गत वर्ष र यस वर्ष पनि साउन महिनामा पशुपतिनाथ मन्दिर नखुल्दा बाहिरबाट दर्शन गर्न बाध्य हुनुपरेको चन्द्रागिरि नगरपालिकाबाट दर्शनका लागि आउनुभएका श्यामप्रसाद भुर्तेलले सुनाउनुभयो ।

पशुपतिनाथ मूल मन्दिरको दक्षिणी भागस्थित मुख्य ढोकाबाट मूलभट्ट एवं भट्टलाई भेट्न जाने जनाउँदै केही मानिस भित्रिने तर अरुलाई छिर्न नदिने गरेको अनुभव भोग्नुपरेको उहाँको गुनासो छ । शङ्करका मन्दिरमा पनि यस्तो व्यवहार हुँदा दुःखी हुनुपरेको पशुपति क्षेत्र आउने भक्तजनको भनाइ छ ।

पशुपति क्षेत्र विकास कोषले मूल मन्दिरका सबै ढोका बन्द गरेर साउनमा सुन्दरीजलबाट पशुपतिनाथसम्म बोल बम काँवर यात्रासमेत स्थगन गरेको छ । कोषले यात्रा स्थगन गरे पनि केही बोलबम यात्री भने सुन्दरीजलबाट सवारी साधन प्रयोग गरी जल लिएर पशुपति क्षेत्र प्रवेश गरेको देखिन्छ ।

कोषका सदस्य सचिव डा प्रदीप ढकाल मूलभट्टलाई भेट्न आउने आगन्तुक पञ्चदेवलसँगैको दक्षिणी ढोकाबाट प्रवेश गर्न दिइए पनि मूल मन्दिरमा प्रवेश गर्न सुरक्षाकर्मीले रोकेको बताउनुहुन्छ । आइतबारदेखि बढी भीडभाड हुने मन्दिरलगायत क्षेत्रका लागि १० ठाउँमा निषेधाज्ञा थपिएकाले पनि साउनभर नै मन्दिर खुला गर्न सकिने अवस्था नदेखिएको उहाँले बताउनुभयो ।

पशुपतिनाथ मन्दिर गत वैशाख पहिलो सातादेखि नै भक्तजनका लागि बन्द गरिएको थियो । त्यसैबेलादेखि विशेष पूजा पनि रोकिएको छ । मूल मन्दिरमा साउनमा प्रत्येक वर्ष हुने अन्य पूजा भने जारी रहेको जनाइएको छ ।

गोकर्णेश्वर मन्दिर बाहिर भीड

राजधानीको उत्तरी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिरको बाहिरी क्षेत्रमा पनि भक्तजनको भीड लागेको छ । पशुपतिनाथ मन्दिर बन्द भएपछि केही दर्शनार्थी गोकर्णेश्वर मन्दिरमा दर्शन गर्न पाइने आशामा जम्मा भएकामा बाहिरैबाट फर्कनुपरेको दुःखेसो पोख्छन् । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वर मन्दिरमा बालयन्त्रको पूजा आराधना हुने भएकाले दुवैको उत्तिकै शास्त्रीय महत्व रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

असारको अन्तिम साता गोकर्णेश्वर नगरपालिका– ४ का वडाध्यक्ष श्रीकुमार श्रेष्ठले विज्ञप्ति निकाली यस वर्ष साउनमा मन्दिर बन्द रहने जानकारी गराउनुभएको थियो । गोकर्णेश्वर मन्दिरमा नित्य पूजा, आरतीबाहेकका सबै गतिविधि बन्द गरिएको नगरपालिकाले जनाएको छ । नगरवासीको स्वास्थ्य सुरक्षाका कारण साउनमा पनि बाध्य भएर मन्दिर बन्द गर्नुपरेको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताउनुभयो ।

बाहिरी भागमा जम्मा भएका भक्तजन भने भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर छिर्न पाउने व्यवस्था गर्नुपर्ने माग गर्छन् । वाग्मतीको वारिपारि दूरी कायम गरी बस्न सकिने प्रशस्त स्थान भएकाले त्यस्तो व्यवस्था गर्न दर्शनार्थी पार्वती पुडासैनीले माग गर्नुभयो ।

नागेश्वरमा दर्शन व्यवस्था

काठमाडौँ उपत्यकाका अन्य शिवालयमा पनि भक्तजनको भीड लागेको छ । काठमाडौँ महानगरपालिका– ३२ स्थित पेप्सीकोलाको नागेश्वर महादेव मन्दिरको बाहिरी क्षेत्रमा पनि भक्तजनको भीड लागेको छ । गत हप्ता भक्तजनलाई दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर दर्शन एवं पूजा आराधनाको व्यवस्था मिलाइएकामा यस हप्ता भने कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेकाले मूल ढोका बन्द गरी बाहिरबाट पूजा गर्ने व्यवस्था मिलाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यका र बाहिर पनि शहरी क्षेत्रका ठूला मन्दिर कोरोना जोखिमका कारण बन्द गरिएका छन् । भक्तजनलाई बन्द गरिए पनि मन्दिरमा नित्य पूजा एवं आरती भने हुने गरेको छ । सार्वजनिक यातायातलाई भीड गर्न दिने तर मन्दिर नखोल्ने नीतिप्रति भक्तजनले आपत्ति जनाएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको