पोखरा महानगरद्वारा भैँसी खरीदमा अनुदान

पोखरा । पोखरा महानगरपालिकाले किसानलाई भैँसी खरीद गर्न अनुदान दिएको छ । दूधमा महानगरलाई आत्मनिर्भर बनाई किसानको आयआर्जन वृद्धि गराउने उद्देश्यले महानगरको भैँसी प्रवद्र्धन कार्यक्रमअन्तर्गत आइतबार १०भन्दा बढी भैँसी पाल्ने ५० किसानलाई गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले अनुदान रकम प्रदान गर्नुभयोे ।

किसानको ५० प्रतिशत लागत र साझेदारीमा जनही रु ३४ हजार १२० का दरले ५० किसानलाई रु १७ लाख छ हजार वितरण गरिएको महानगरका पशु महाशाखा प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो ।

वर्गीकरणमा समावेश भएर पनि हालसम्म अनुदान नपाएका र अन्य व्यावसाय गरिरहेका किसानलाई अनुदान रकम प्रदान गरिएको जानकारी दिँदै उहाँले भन्नुभयो,“महानगरलाई दूध उत्पादनमा आत्मनिर्भर बनाउने योजनाअनुसार भैँसी खरीदमा अनुदान उपलब्ध गराइएको हो । यसबाट किसानलाई व्यावसायिक बन्न उत्प्रेरित गर्ने विश्वास लिएका छौँ ।”

अरुणोदय दुग्ध उत्पादक तथा नश्ल सुधार सहकारी संस्थाको समन्वयमा किसानले भैँसी खरीद गरेको रसिदका आधारमा अनुदान उपलब्ध गराएको महानगरले पशुपालक किसानलाई सात वर्गमा वर्गीकरण गरेर परिचयपत्र वितरण गरिसकेको छ ।

प्रदेश सरकारले १५० भन्दा बढी गाईभैँसी पाल्ने र रु एक करोडभन्दा बढी लगानी गरेकालाई विशिष्ट किसान, ६१देखि १५०सम्म गाईभैँसी पाल्ने र रु एक करोडसम्म लगानी गर्नेलाई उद्यमी किसानमा वर्गीकरण गरेको थियो ।

यसैगरी ३०देखि ६०सम्म गाईभैँसी पाल्ने र रु ५० लाखभन्दा बढी लगानी गर्नेलाई व्यावसायिक, १० देखि ३०सम्म गाईभैँसी पाल्ने र रु ५० लाखसम्म लगानी गर्नेलाई व्यावसायोन्मुख, पाँचदेखि नौ वटासम्म गाईभैँसी पाल्ने र रु १० लाखसम्म लगानी गर्नेलाई साना व्यवसायी किसानमा वर्गीकरण गरिएको थियो ।

अर्थमन्त्री बरालले अनुदान वितरण कार्यक्रमप्रति आम किसानको गुनासो आएकाले वास्तविक किसानलाई अनुदान उपलब्ध गराउने व्यवस्था गर्न र उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई प्रभावकारी तथा पारदर्शी गराउन पनि जोड दिनुभयो

महानगरका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले दूध, तरकारी, माछा र मासुमा पोखरालाई आत्मनिर्भर बनाउन निर्वाहमुखी नभई व्यावसायिक कृषि गर्न आवश्यक भएको बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको