पहिरोका कारण राप्तीका १४ घर जोखिममा
आशिष उप्रेती, चितवन । पूर्वी चितवनको राप्तीको पहाडी क्षेत्रमा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । अविरल वर्षाले पूर्वी चितवनको पहाडी क्षेत्र राप्ती नगरपालिका–१२ पर्खाल भन्ने ठाउमा चेपाङका २ घर पहिरोले बगाउदा एक जना पुरुषको शव फेला परेको छ भने ३ जना बेपत्ता भएका छन् ।
पहिरोमा परी मृत्यु हुनेमा राप्ती नगरपालिका १२ का अन्दाजी ५०/५५ वर्षका मोतीलाल चेपाङ रहेको राप्ती नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष अर्जुन चेपाङले जानकारी दिनुभयो । बेपत्ता हुनेहरुमा मृतक मोतीलालका छोरा सोही ठाउका अन्दाजी ३२ वर्षका कृष्णलाल चेपाङ, कृष्णलालको श्रीमती अन्दाजी २५ वर्षका निशा चेपाङ र कृष्णलालको छोरी अन्दाजी ९ महिनाको नाबालिका ऐलिसा चेपाङ रहेका छन् । उनीहरु सबै एकै घरपरिवारको भएको उहाँले बताउनुभयो ।
एउटा घरमा मृतक मोतीलाल एक जना र अर्को घरमा मृतक मोतीलालका छोरा, बुहारी र नातिनी गरी ३ जना बस्दै आएका थिए । पहिरोले एउटा गोठ समेत बगाएको छ । गोठमा रहेका १५ वटा गाई गोरु, ३० वटा बाख्रा र १६ वटा कुखुरा समेत पहिरोले बगाएको वडा अध्यक्ष अर्जुन चेपाङले बताउनुभयो । वडा अध्यक्ष चेपाङका अनुसार घटनास्थलमा अहिलेसम्म उद्धार टोली पुग्न सकेको छैन । ‘यसक्षेत्रका १४ घरधुरी अझै पनि जोखिममा रहेका छन् र अहिलेसम्म खोला बढेकाले एक गाउँबाट अर्को गाउँमा पुग्ने अवस्था छैन’ वडाअध्यक्ष चेपाङले भने ‘घटनास्थलमा उद्धारटोली जान सकेको छैन ’ ।
ईलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक राजिव गिरीले उद्धारका लागि घटनास्थलमा जानको लागि आपपानी भन्दा माथि गाडी नजाने र हिडेर जानको लागि यौरालीटार नजिकै खोलामा ठुलो बाढी आएकोले आज तत्कालै जान नसकेको उहाँले बताउनुभयो । बिच बाटोमा स-साना पहिरो र खोलामा पानीको बहाव बढेकाले आज घटनास्थलमा जान सक्ने अवस्था नरहेको बताउनुभयो । भोलि बिहान ५ बजे नै नेपाली सेना र सशस्त्र प्रहरी सँगै घटनास्थलमा उद्धारका लागि खटिने उहाले बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको