काठमाडौँ। नेकपा एमालेले अन्ति समयसम्म पार्टीको एकता बचाउन प्रयास जारी राख्ने निर्णय गरेको छ ।
मंगलबार बसेको स्थायी समिति बैठकमा पार्टी एकता बचाउन अन्तिमसम्म जारी राख्ने तथा लचकता अपनाएर अघि बढ्ने निर्णय भएको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
‘पार्टीको आन्तरिक एकताका लागि भइरहेका छलफलबारे विवेचना भयो, एकता बचाउन नेतृत्व तहबाट अन्तिम समयसम्म पनि प्रयास जारी राख्ने बारेमा छलफल भएको छ’, ज्ञवालीको भनाइ छ ।
बैठकमा सर्वोच्च अदालतमा विचाराधीन रिटमाथि भइरहेका बहसका विषयमा छलफल भएको छ भने लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनको पनि समीक्षा भएको ज्ञवालीले बताए ।
त्यस्तै, उनले बैठकमा यसअघि स्पष्टिकरण सोधिएका १२ जना एमाले नेताहरुलाई कारवाही गर्नेबारे कुनै एजेण्डा नभएको पनि स्पष्ट पारे ।
पार्टी एकताका लागि गठित कार्यदल अस्तित्वमा नरहेको र आवश्यक परे फेरि गठन गरिने उनले जनाए ।









