
रुपन्देही । बहुप्रतिक्षित रुपन्देही र पाल्पाको सीमा क्षेत्रमा रहेको सिद्धबाबा सुरुङ मार्गको टेण्डर भएको छ ।
सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डमा सुरुङ मार्ग बनाउन बजेट सुनिश्चित भएपछि आज टेण्डर भएको हो । ‘मृत्यु मार्ग’का रुपमा चिनिने यो सडक पहिरोको उच्च जोखिमपूर्ण क्षेत्र हो । जोखिमयुक्त सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग बनाउन सङ्घीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रक्रिया थालेको थियो ।
सुरुङ मार्ग निर्माण गर्न अर्थ मन्त्रालयले १० अर्ब बजेटको सुनिश्चितता दिएको र सोही आधारमा प्रक्रिया अगाडि बढाइएको सडक विभागका उपमहानिर्देशक विजय जैसीले बताउनुभयो ।
‘अहिले ५ वर्षको सीमा तोकेर टेण्डर आव्हान भएको छ, यसका विभिन्न संरचनागत सम्झौताहरूमा स्पष्ट उल्लेख छन्, अहिले ४५ दिनको समय राखेर सूचना सार्वजनिक गरिएको छ, त्यसपछि निर्माणको काम अगाडि बढ्नेछ’– उहाँले भन्नुभयो ।
मङ्सिर १ को अर्थमन्त्री स्तरीय बैठकले सुरुङका लागि बहु वर्षीय योजनामा काम गर्ने गरी बजेट स्वीकृति दिएको हो । ‘ग्लोबल टेन्डर आह्वान गर्छौँ, आर्थिक वर्षभित्रै निर्माण सुरु हुनेछ,’ उहाँले भन्नुभयो । सुरुङ मार्ग ५ वर्षभित्र बनाइसक्ने टेण्डरमा उल्लेख छ । करिब ५ कि.मी. को यो सिद्धबाबा सुरुङ मार्ग आयोजनामध्ये १ हजार १ सय २६ मिटरको टनेल, ७ सय ८० मिटरको डबल लेन रक सेड, माथिल्लो भागमा रक नेट, स्लोप पोटेक्सन लगायतका कामहरू हुनेछन् ।
सिद्ध बाबामा सुरुङ मार्ग बनाउने विषयमा केही वर्षयता बहस भइरहेको थियो । लुम्बिनी–पोखरा जोड्ने महत्त्वपूर्ण सडक भएकाले सुरुङ नै समस्याको समाधान भएकाले निर्माण प्रक्रिया थालिएको हो । अर्थमन्त्री तथा रुपन्देहीबाट प्रतिनिधिसभाका सदस्य विष्णु पौडेलले सुरुङ मार्गसँगै डबल लेनको सडकसमेत निर्माण हुने बताउनुभएको छ । ‘सुनौली–कोरला सडकको दीर्घकालीन सोचसहित सिद्ध बाबामा सुरुङ बनाउने निष्कर्ष निकालिएको हो’ उहाँले भन्नुभयो – ‘रुपन्देही र पाल्पावासीका लागि मात्र होइन यो देशकै पहिलो र नमुना योजनाका रुपमा अगाडि बढेको योजना हो, सबैको साथले समयमै निर्माण सम्पन्न हुनेछ ।’
रुपन्देही र पाल्पाको सिमानामा पर्ने सिद्धबाबा क्षेत्रमा स्विस सरकार विकास सहयोगमार्फत सुरुङ मार्गको भौगर्भिक अध्ययन गरिएको थियो । ड्रिलिप नेपालले प्लानेट टेस्ट प्रालिमार्फत गरेको अध्ययनले सुरुङ मार्ग बनाउन सकिने प्रतिवेदन दिएको थियो ।
सुरुङ मार्ग पाल्पाको सिद्धबाबा मन्दिरको उत्तरतर्फको चिडियाखोलाको छेउबाट सुरु हुनेछ । चिडियाखोला खोँचबाट सुरु हुने सुरुङ दोभाननजिकै रामापिथेकस पार्कको उत्तरतर्फ निस्कनेछ । सिद्धार्थ राजमार्ग सिद्धबाबा क्षेत्रकै पहिरोका कारण असुरक्षित मानिन्छ । यहाँ पछिल्ला पाँच वर्षमा करिब डेढ सयको मृत्यु भएको छ भने सयौँको अङ्गभङ्ग भएको छ ।
यो सडकमा पहिरो खस्नका लागि पानी पर्नुपर्दैन । सिद्धबाबा क्षेत्र पत्रे चट्टानको भएकाले पहिरो जाँदा पुरिएर धेरैको ज्यान गएको छ ।