छायाँनाथ रारा नगरपालिकाले  कर्णाली नदीमाथि  बेलीब्रिज निर्माण गर्ने

मुगु। मुगु–हुम्ला लिङ्करोडको मुगु खण्डमा पर्ने कर्णाली नदीमाथि यहाँको स्थानीय सरकारले बेलीब्रिज पुल निर्माण गर्ने भएको छ ।

छायाँनाथ रारा नगरपालिका–१, ३ र १३ वडामा भएर बग्ने मुगु कर्णाली नदीको भट्टेचौर भन्ने स्थानमा नगरपालिकाले बेलीब्रिज निर्माण गर्न लागेको हो ।

नगरपालिकाका प्रमुख हरिजङ्ग शाहीले सो पुल र पुलसम्म पुग्ने सडकको बुधबार शिलान्यास गर्नुभएको छ । पुल नगरपालिकाको आर्थिक लगानी र ग्रामीण पहुँच कार्यक्रम तेस्रो चरणको प्राविधिक सहयोगमा निमार्ण हुनेछ । बेलीब्रिज निर्माणका लागि जलब रवि चक्र जेभी निर्माण कम्पनीले नगरपालिकासँग बोलकबुल गरेर सम्झौतासमेत गरिसकेको निर्माण कम्पनीका प्रतिनिधि बखतबहादुर मल्लले बताउनुभयो । “विधिवतरूपमा पुलको शिलान्यास भएको छ”, उहाँले भन्नुभयो, “अब द्रूतगतिमा पुल निर्माणको काम अघि बढ्ने छ ।” नदीमा पानी बहाव नबढ्दै दुवैतिर टेवा पर्खाल निर्माण गरिसक्ने पनि उहाँले बताउनुभयो ।
सो अवसरमा नगरप्रमुख शाहीले साविकको जिल्ला विकास समितिले भट्टेचौरमा पक्की पुल निर्माण गर्न ठेक्का लगाई पुल बनाउने काम रोकेका कारण प्रक्रियामा जान कानूनी समस्या परेको बताउँदै कानूनी प्रक्रिया पूरा गरेर पुल नबनुञ्जेलसम्मका लागि अस्थायी रुपमा भए पनि बेलीब्रिज राख्न गत वर्ष नै नगरसभाले बजेट विनियोजिन गरेको जानकारी दिनुभयो ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको