अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा आयोजित महिला म्याराथनमा धादिङकी रसिला प्रथम

तनहुँ।  व्यास नगरपालिका कार्यालयद्वारा दमौलीमा अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा आयोजित प्रथम व्यास नगर महिला खुला हाफ म्याराथन प्रतियोगितामा धादिङका २१ वर्षीया रसिला तामाङ प्रथम हुनुभएको छ ।

दमौलीको व्यासगुफादेखि व्यास नगरपालिका–११ तनहुँसुरसम्मको करीब २१ किलोमिटर दूरीको दौडमा उहाँले एक घण्टा ४९ मिनेटमा उक्त दूरी पार गर्दै प्रथम हुनुभएको हो ।

त्यसैगरी खोटाङ अ‍ैसेली गाउँपालिकाकी प्रिया राईले एक घण्टा ४९ मिनेट एक सेकेण्डमा पार गर्दै द्वितीय, सोलुखुम्बुकी अनिता राईले एक घण्टा ५५ मिनेट ३२ सेकेण्डमा पार गरी तृतीया हुनुभएको छ । त्यसैगरी चौथो नेपाली सेना कालिकोटकी विषेशता ऐडी, पाँचौँ भानु माध्यमिक विद्यालयकी विद्यार्थी नम्रता गुरुङ, तनहुँ ऋषिङकी सीता रानाभाट छैटाँै, भक्तपुरकी आइसा श्रेष्ठ सातौँ र ओखलढुङ्गाकी पद्मकुमारी सुनुवार आठौँ हुनुभयो ।

प्रतियोगितामा विजयी हुनेले प्रथम पुरस्कार रु ४१ हजार ७७, द्वितीय पुरस्कार रु ३१ हजार ७७ र तृतीय पुरस्कार रु २१ हजार ७७ प्रदान गरिएको छ । त्यसैगरी पाँच जनालाई रु ११ हजार ७७ का दरले सान्त्वना पुरस्कार प्रदान गरिएको छ ।

गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङ, नगर प्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख मिरा जोशीलगायतले विजयी खेलाडीलाई पुरस्कार प्रदान गर्नुभयो । नगरपालिकाले खेलकूदका माध्यमबाट पर्यटन प्रवद्र्धन क्षेत्रको विकास गर्ने उद्देश्यले पहिलो पटक म्याराथन प्रतियोगिताको आयोजना गरेको हो । केही समयअघि मात्रै नगरपालिकाले व्यास–५ मानहुँकोटदेखि शहीदग्राम पुलिमराङसम्मको करीब ४२ किलोमिटर दौड प्रतियोगिता सम्पन्न गरिसकेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको