चितवन । पूर्वसांसद एकनाथ रानाभाटको आज निधन भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो १ बजेर ५८ मिनेटमा उहाँको निधन भएको हो ।
उच्च रक्तचापका कारण मस्तिष्कघात भई १६ दिनदेखि उहाँको मेडिकल कलेजमा उपचार भइरहेको थियो । रत्ननगर नगरपालिका वडा नं १४ पिठुवा निवासी रानाभाट विसं २०५६ मा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । नेपाली कांग्रेस रत्ननगरका सभापति रुपनराज घिमिरेका अनुसार वि सं २००९ कात्तिक २८ गते स्याङ्जाको भाटखोलामा उहाँको जन्म भएको थियो ।
रानाभाट नेपाली कांग्रेस चितवनका पूर्वसचिव, सुकुम्बासी समस्या समाधान आयोग रुपन्देहीका पूर्वअध्यक्ष, राष्ट्रिय सहकारी बोडका पूर्व उपाध्यक्ष लगायत विभिन्न पदमा रही कार्य गर्नुभएको थियो । उहाँका एक श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । उहाँको मङ्गलबार बिहान देवघाटमा अन्त्येष्टि गरिँदैछ ।
नेपाली कांग्रेस चितवनले शोक वक्तव्य जारी गर्दै पार्टीले एक निष्ठावान् नेता गुमाएकामा दुःख प्रकट गरेको छ । जिल्ला सभापति जीतनारायण श्रेष्ठले उहाँको निधनले सिङ्गो कांग्रेसलाई अपुरणीय क्षति पुगेको बताउनुभयो । उहाँका अनुसार बिहान ८ः३० बजेदेखि एक घण्टा उहाँको शवलाई पार्टी कार्यालय नारायणगढमा राखिनेछ ।