प्रेस सङ्गठन नेपाल चितवनको पूर्वी चितवनमा भेला सम्पन्न

चितवन। पूर्वी चितवनका पत्रकारहरुको छलफल तथा अन्तरक्रिया कार्यक्रम शनिबार रत्ननगरको टाँडीमा सम्पन्न भएको छ । प्रेस सङ्गठन नेपाल चितवन शाखाको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रेस सङ्गठन नेपालका केन्द्रीय सदस्य तथा प्रदेश सहसंयोजक शिशिर सिंखडाले सङ्गठनलाई एकताबद्ध बनाउँदै अघि बढ्ने बताउनुभयो ।

उहाँले प्रेस सङ्गठनमा आवद्ध रहेका अधिकांश पत्रकारहरु आफूहरुसँग गोलबन्ध भएको भन्दै बाँकी साथीहरु पनि एकै ठाउँमा आउने धारणा राख्नुभयो । “हामी सङ्गठनलाई नयाँ स्वरुपमा अघि बढाउँदै छौँ, उहाँले भन्नुभयो, “अग्रजको सम्मान र अनुज पत्रकारलाई थप सङ्गठित बनाउँदै लैजाने अभियान चलाउँछौँ ।” उहाँले आफूहरु कामलाई प्र्राथमिकता दिने भन्दै पत्रकारका हक हित र अधिकारका विषयमा सधैँ आवाज उठाउने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरीले प्रेस सङ्गठन नेपालले पछिल्ला दिनमा सक्रिय रुपमा गतिविधिहरु सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । पत्रकार महासंघको आसन्न निर्वाचनमा पनि बलियो उपस्थिति सङ्गठनले देखाउने बताउनुभयो । यस्तै पत्रकार महासंघ चितवनका निवर्तमान अध्यक्ष हरि पोखरेलले ढुक्क भएर सबै पत्रकार साथीहरुले सङ्गठनमा गोलबन्द हुन आग्रह गर्नुभयो । “केही साथीहरुलाई अझैपनि आशङ्का रहन सक्छ” उहाँले भन्नुभयो, “सबै साथीहरु भएको सङ्गठनमा नै बसेर काम गर्ने हो ।” पोखरेलले प्रेस सङ्गठन जिल्लाको पहिलो सङ्गठनको रुपमा स्थापित भइसकेको बताउनुभयो ।

कार्यक्रममा पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटाले सक्रिय र क्रियाशीलता पत्रकारको महत्वपूर्ण पक्ष रहेको भन्दै त्यसमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले सङ्गठनका गतिविधिहरु निरन्तर रुपमा हुुनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा प्रेस सङ्गठन नेपालको वाग्मती प्रदेश कमिटी सदस्य तिलकराम रिमाल, रामकान्त पौडेल, अग्रज पत्रकार मुकुन्द दाहाल, नवराज ढकाल, पत्रकार महासंघ चितवनका सहसचिव सन्तकुमार चौधरी, डब्लुडब्लुजे चितवनकी पूर्व अध्यक्ष शान्ता अधिकारी लगायतले बोल्नुभएको थियो ।

सो कार्यक्रममा पूर्वी चितवनमा क्रियाशील ३० बढी पत्रकारहरुको सहभागिता रहेको थियो । प्रेस सङ्गठन चितवन शाखाका संयोजक सुवास पण्डितको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसंयोजक कृष्ण आचार्यले गर्नुभएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको