बुटवल। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कम्युनिष्ट पार्टीको एकता गर्दै देश र जनताको समृद्धितिर केन्द्रित भएको तर, प्रचण्ड–माधवहरु आफू बन्न मात्रै लागि परेको बताएका छन् ।
आज शनिबार बुटवलमा आयोजित प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड, माधव र झलनाथले आफू बन्न गरेको प्रपञ्चका कारण प्रतिनिधिसभा विघटन गर्न बाध्य भएको समेत बताएका छन् ।
कम्युनिष्ट पार्टीको अध्यक्षका हिसाबले आफू देश बनाउने कामको संकल्प गर्दै नेतृत्व लिइरहेको अवस्थामा उनीहरुले आफू बन्नका लागि हरबखत दबाब सृजना गर्दै आएको दाबी गरेका छन् ।
‘उहाँहरु देश र जनताका समृद्धिका लागि होइन, आफू र आफ्नो समृद्धिका लागि आफूबाहेक प्रधानन्त्री, पार्टी अध्यक्ष र राष्ट्रपति आफै हुनुपर्छ भन्ने उद्देश्यका साथ मविरुद्ध लागिरहनुभयो,’, ओलीले प्रश्न गर्दै भने, ‘संसदलाई फोहो पार्दै सांसद किनबेचको खेलबाट आफू पदमा पुग्ने मात्रै ध्यानमा लाग्नुभयो, जनताको एजेन्डा कहिल्यै सुन्नुभयो उहाँहरुबाट ?’
प्रधानमन्त्री ओलीले नेकपा फुटेको नभई स्वार्थी र जनविरोधी तत्व चोइटिएको बताएका छन् । गुटबन्दी, पार्टी विभाजन र मुलुकलाई अस्थिर बनाउन खोज्ने केही व्यक्तिहरु पार्टीबाट बाहिरिएको ओलीको भनाइ छ ।
नेपालमा कम्युनिष्ट पार्टीको एकता नचाहाने, जनताको समृद्धि नचाहाने र आफ्नो स्वार्थमात्रै सोच्ने केही तत्वहरु पार्टीबाट चोइटिएको ओलीले थपे ।