ललितपुर । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा नवनियुक्त ऊर्जा, जलश्रोत ताथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले केपी ओलीलाई पर्छाछु भनेर लागेकाहरू आफै पछारिएको बताउनुभएको छ ।
आज ललितपुर १ नं. निर्वाचन क्षेत्रमा भएको नेकपाको बृहत् भेलालाई संवोधन गर्नुहुँदै मन्त्री रायमाझीले आफ्नै सरकार ढालेर प्रधानमन्त्री र पार्टी अध्यक्ष हुन खोज्नेहरू आफै ढलेको बताउनुभयो । उहाँले भन्नुभयो,‘केपी ओलीलाई पछारेर प्रधानमन्त्री र पार्टी अध्यक्ष हुन खोज्नेहरू आफै पछारिएर सडकमा पुगे ।’
कार्यक्रममा बोल्दै उहाँले प्रतिपक्षीले पनि नगर्ने व्यवहार गरेर आफ्नै सरकार ढाल्न खोज्ने र हात खुट्टा बाँधेर काम गरेन भनेर चिच्याउनेहरू पराजित भएको बताउनुभयो ।
उहाँले आफ्नै सत्ता ढालेर पुस माघको जाडोमा सडकमा जाने बेला अहिले नभएको बताउनुभयो । उहाँले पुष्पकमल दाहाल र माधव नेपाल प्रतिलक्षित गर्दै अझै पनि केही नबिग्रिएको भन्दै पार्टीमा फर्कन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘तपाइहरूँ जस्तो नेता बनाउन धेरै लगानी परेको छ, चिसो सडकमा बस्न छोडेर फर्कनुहोस् तातो सोफामै राखौँला । ’
भूकम्प, नाकाबन्दी र महामारीमा ओलीको नेतृत्वमा भएका कामहरूको उहाँले प्रशंसा गर्नुभयो । विपत्तिमा पनि विकासका ठुला ठुला आयोजनाहरू बढाएर ओलीले जनताको विश्वास जित्नुभएको बताउनुभयो । ओलीको सफलतालाई डाह गर्नेहरूले नै ओलीलाई घेराबन्दी गरेको उहाँले बताउनुभयो ।
पार्टी एकता देश र जनताको लागि आवश्यकता भए पनि कसै कसैलाई बाध्यता भएको उहाँले बताउनुभयो । ‘पूर्व एमालेलाई आवश्यकता थियो, पूर्व माओवादीलाई बाध्यता उहाँले बताउनुभयो ।
ठुलो हुँदै गएको पार्टी एमालेलाई दुई तिहाइको सरकार बनाउनुपर्ने भएकाले आवश्यकता र सिधिदै गएको माओवादीलाई आफ्नो साख जोगाउन पार्टी एकता बाध्यता भएको उहाँले प्रष्ट पार्नुभयो ।
हामी पेरिस डाँडामा आँखा लगाउँदैनौ तपाई बल्खु, धुम्बाराहीमा आँखा नलगाउनुस् : महेश बस्नेत
कार्यक्रममा बोल्दै नेकपाका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले प्रचण्ड समूहप्रति लक्षित गर्दै आफुहरु पेरिस डाँडामा आँखा नलगाउने भन्दै धुम्बाराही तिर आँखा नलगाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामी पेरिस डाँडामा आँखा लगाउदैनौ,तपाई बल्खु, धुम्बाराहीमा आँखा नलगाउनुस ।’