प्रचण्डले माधवसहित धेरै नेतालाई राजनीतिक सहिद बनाउदै: पूर्वमन्त्री बस्नेत

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले प्रचण्डले माधवसहितका धेरै नेतालाई राजनीतिक सहिद बनाउने बताउनुभएको छ ।

पछिल्लो समय प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी ओलीको विरुद्धमा प्रचण्डले सञ्चालन गरेको गुटमा माधवकुमार नेपालसहितका केही नेताहरु सक्रिय रहेको उल्लेख गर्दै उहाँले माधव नेपाल सहितका उक्त गुटका धेरै नेतालाई प्रचण्डले राजनीतिक सहिद बनाउने समेत स्पष्ट पार्नुभयो ।पूर्वएमालेका केही झुण्डको बैसाकी टेकेर अगाडी बढ्नुभएका कार्यकारी अध्यक्ष प्रचण्डको नेपाली राजनीतिक इतिहासको अस्थित्व समाप्त हुने चेतावनी दिनुभएको छ । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डको राजनीतिक हैसियत उपाध्यक्ष जतिको पनि नभएको उल्लेख गर्नुभयो ।

उहाँले २०७४ को निर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा जनमत प्राप्त भएको स्पष्ट पार्नुभयो । जनमतलाई कब्जा गरेर निर्वाचित हुने प्रचण्डले लोकतन्त्रको कुरा गर्ने नैतिकतासमेत नरहेको स्पष्ट पार्दै उहाँले प्रचण्डले अपराधिक, ठग ठेगदारको घरमा बस्ने, देशी विदेशी अराजक तत्वलाई अंगाल्ने गरेको आक्रोस व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पूर्व एमालेका केही व्यक्तिहरुको बैसाकी टेकेर प्रचण्डले केपी ओली माथि प्रहार गर्दै हुनुहुन्छ । माधव नेपालले दिएको बैसाकी फुत्कनसाथ प्रचण्ड गल्र्यामगुर्लूम्म ढल्नुहुन्छ । त्यसपछि राजनीतिक मात्र हैन, इतिहासलगायतका अन्य तवरले समेत अस्थित्व समाप्त हुन्छ । पूर्वएमालेमा खेलेर आफ्नो अपराधिक गतिविधि, आतंकवादी गतिविधि, भ्रष्टाचार, अनियमिततालाई निरन्तरता दिने गरेको पाइएको छ । त्यसको पनि कानुनी उपचार हुन्छ । गल्ती नगर्ने डराउनु पर्दैन, गल्ती गर्नेलाई कानुनले छोड्दैन । गल्ती गरेको भए जोसुकै सजायको भागिदार हुनुपर्छ ।’

प्रधानमन्त्री ओलीले विकास र समृद्धिको साथमा राष्ट्रियताको सवालमा लिएको अडानले प्रचण्ड–माधवको मुटु दुखेको उल्लेख गर्दै पूर्वमन्त्री बस्नेतले पार्टीभित्र देशी विदेशी तत्वहरुको आड तथा इसारामा प्रधानमन्त्री ओलीलाई चौतर्फी घेरावन्दी गरेको बताउनुभयो । ‘पार्टीभित्रैबाट देशी विदेशी तत्वको आड लिएर अध्यक्ष प्रचण्डले चौतर्फी घेरावन्दी गरेपछि संविधान अनुसार प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरी राष्ट्रपतिबाट विघटन भएको छ ।’ उहाँले भन्नुभयो, ‘राष्ट्रपतिलाई महाअभियोग लगाउन, प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव लैजाने कदम चालेपछि बाध्यभएर संसद विघटन भएको छ ।

जनता नै न्यायधिस रहेकाले जनताको नासो जनतालाई नै छान्न दिने गरी निर्वाचनको घोषणा भएको उहाँले बताउनुभयो । आगामी बैशाख १७ र २७ गते हुने निर्वाचनमा जनताले सिंह हुँ भन्नेलाई स्याल र कमजोर हुँ भन्नेलाई सिंह पनि बनाउने समेत दावी गर्नुभयो ।

आफुलाई कार्यकारी ठान्ने प्रचण्डले पार्टीलाई व्यवस्थित बनाउनभन्दा पनि गुट भेला आयोजना गर्ने र सरकारको आलोचना गर्नेभन्दा केही पनि काम गर्न नसकेको उल्लेख गर्दै उहाँले दुई चार जना कुण्ठा, अपराधिक गतिविधि, आफुलाई जहिले पनि पद र पावरमा राख्न खोज्नेले निर्वाचनको माध्यमबाट कम्युनिष्ट आन्दोलनलाई शुद्धिकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रपतिलाई महाअभियोग लगाई उपराष्ट्रपतिको माध्यमबाट आफ्नो अधिनायकवादी सपनाहरुलाई साकार पार्ने योजना बनाएको प्रचण्डमा रहेको उल्लेख गर्दै पूर्वमन्त्री बस्नेतले प्रचण्ड प्रधानमन्त्री, माधव अध्यक्ष तथा झलनाथ राष्ट्रपति बन्ने विशेष रणनीतिका साथ उक्त गुट अगाडी बढेको तथ्य सार्वजनिक समेत गर्नुभयो ।

प्रधानमन्त्रीलाई पार्टीबाट कारवाहीको निर्णय गर्नु नै पार्टी फुटको घोषणा भएको उल्लेख गर्दै उहाँले मुलधारको कम्युनिष्ट पार्टीको नेतृत्व गर्ने स्पष्ट पार्नुभयो । आगामी दिनमा सूर्य चिन्ह केपी ओलीले नेतृत्व गरेको पार्टीको हुने बताउँदै उहाँले बामदेव गौतमले ओलीलाई नै साथ दिने निश्चित रहेको बताउनुभयो ।

प्रचण्डले हस्ताक्षर गराएका नेताहरुमा धेरै केपी ओलीकै समर्थनमा रहेको खुलासा गर्दै उहाँले आगामी निर्वाचन पश्चात पनि प्रधानमन्त्री ओलीले नेतृत्व गरेको पार्टीले राम्रै जनमतसहित पुनः मुलुकको नेतृत्व गर्ने दावी गर्नुभयो । प्रचण्ड फुटेर गएमा आगामी निर्वाचन पछि केपी ओलीले नेतृत्व गरेको पार्टी र कांग्रेसबीचको प्रतिपर्धा हुने तर प्रचण्डको नेतृत्वसँग प्रतिष्पर्धा नै गर्नु नपर्ने स्पष्ट पार्दै उहाँले प्रचण्डसँग नेता भागबण्डले गर्दा देखिएको तर जनताको साथ र समर्थन नरहेकोसमेत स्पष्ट पार्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको