आगामी मंगलबारदेखि कक्षा १२ को परीक्षा शुरू हुँदै

काठमाडौँ, ७ मंसिर । कक्षा १२ को परीक्षा आगामी मंगलबारदेखि सुरु हुँदै छ । परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका सदस्य सचिव दुर्गा अर्यालले सबै विद्यालयमा उत्तर पुस्तिका पुर्याउने, प्रश्नपत्र तयार गर्ने, केन्द्राध्यक्षलाई तालिम दिने, स्वास्थ्य मापदण्डअनुसारको परीक्षा मापदण्ड तयार गर्नेसहित सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

बोर्डले केही परीक्षा केन्द्रमा प्रश्नपत्र पठाइसकिएको छ भने नजिकका परीक्षा केन्द्रमा अनलाइनको माध्यमबाट परीक्षा सञ्चालन हुनुभन्दा आधा घण्टा अगाडि प्रश्नपत्र पठाइने व्यवस्था मिलाइएको छ ।

परीक्षा स्थगित हुने हल्लामा नलाग्न पनि उहाँले आग्रह गर्नुभएको छ । अहिलेसम्मको अवस्थामा परीक्षा स्थगित हुने कुनै पनि सम्भावना नरहेको बोर्डका सदस्य सचिव अर्यालले बताए ।

उनका अनुसार विद्यार्थीको चाहनाअनुसार होम सेन्टरमै परीक्षा सञ्चालन हुने छ । कोरोना सङ्क्रमण भएका र परीक्षामा बस्न नसक्ने परीक्षार्थीलाई अर्को परीक्षा सञ्चालन गरिने छ । कोरोना सङ्क्रमण पुष्टि भएर पनि परीक्षामा बस्न सक्ने विद्यार्थीका लागि भने छुट्टै स्थानको व्यवस्था गरिएको छ ।

बोर्डले परीक्षा सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक र कर्मचारीलाई परीक्षा कसरी सञ्चालन गर्ने भन्ने विषयमा भर्चुअल रूपमा नै अभिमूखीकरणको काम पनि गरिसकेको छ ।

यो पटक परीक्षार्थीका लागि ४० अंकको लिखित परीक्षा हुनेछ । ४० अंक कक्षा ११ को पढाइलाई आधार मानेर प्रदान गरिनेछ । २० अंक भने स्कुल आफैँले मूल्याङ्कन गरेर दिने छ ।

परीक्षामा ४ लाख ३२ हजार ५०० जना परीक्षार्थी सहभागी हुने छन् । कोरोना सङ्क्रमण कायमै रहे पनि भौतिक दूरी कायम गरी परीक्षा लिन लागिएको हो ।

गएको वैशाख ८ गतेदेखि सञ्चालन हुनुपर्ने परीक्षा कोरोना सङ्क्रमण जोखिमका कारण स्थगित भएको थियो । मंसिर ९ गतेदेखि सुरु हुने परीक्षा १६ गते सकिने छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको