चितवन, कात्तिक २३ । चितवनका विभिन्न स्थानमा मोटरसाइकल चोरी गर्ने तथा चोरीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज पत्रकार सम्मलेन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमध्ये चोरी गर्ने पाँचजना र चोरीको मोटरसाइकल खरिद गर्ने दुईजना छन् । चोरी गर्नेहरु बाराका करैया माइगाउँपालिका–५ का विजय चौधरी, सोही ठाउँकै राकेश चौधरी, बारा जिल्ला, कोल्हवी नगरपालिका–७ का महेश चौधरी छन् ।
अन्य दुईजना चोरी गर्ने चितवनका हुन् । भरतपुर महानगरपालिका ११ का दिनेश गुरुङ र अर्का मनोज दराई रहेको प्रहरीले जनाएको छ । उनीहरुले विभिन्न समयमा भरतपुर महानगरपालिकास्थित भाटभटेनी सुपर स्टोरअगाडि, कटहर चोक, नहरचोक पावर हाउस चोक, विक्रम मार्गलगायत स्थानहरुबाट मोटरसाइकलहरू चोरी गर्दै आएको कार्यालयका प्रवक्ता (प्रहरी नायब उपरीक्षक) सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।
यस्तै चोरीका मोटरसाइकल खरिद गर्ने दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वी चितवनको खैरहनी नगरपालिका–१२ का समीर चौधरी र अमृत चौधरी छन् । उनीहरुले चोरीका मोटरसाइकल खरिद गरी पार्टपुर्जा खोलेको अवस्थामा भेटिएको प्रवक्ता थापाले बताउनुभयो ।