भरतपुरमा आज थप तीन जना कोरोना संक्रमितको मृत्यु

चितवन ।  चितवनमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा दुई र भरतपुर अस्पतालमा एक जना संक्रमितको मृत्यु भएको हो । राप्ती नगरपालिका वडा नं. ५ निवासी ८४ बर्षिय महिलाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज विहान ४ः१९ बजे मृत्यु भएको छ । कार्तिक ५ गते स्वासप्रश्वास र उच्च ज्वरोको समस्या भई अस्पताल भर्ना हुनुभएका उहाँमा ६ गते कोरोना पुष्टि भएको थियो । उच्च रक्तचाप,बाथ रोग र निमोनियाको समेत समस्या रहेका उहाँलाई सघन उपचार कक्षमा उपचार गरिएको थियो ।

यस्तै चितवन मेडिकल कलेजमै उपचाररत ७० बर्षिय पुरुषको आज विहान ८ः४४ बजे मृत्यु भएको छ । चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालका अनुसार भरतपुर महानगरपालिका वडा नं. ७ निवासी पुरुषको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । कार्तिक २ गते स्वासप्रश्वास र मृगौलाको समस्या भई अस्पतालमा भर्ना हुनुभएका उहाँलाई सोही दिन कोरोना पुष्टि भएको थियो । उहाँ मृगौला र उच्च रक्तचापको समेत विरामी हुनुहुन्थ्यो ।

यस्तै भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका ७ का ५७ वर्षिय पुरुषको विहीवार राती मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । कात्तिक ६ गते संक्रमण सहितज्वोरो, खोकी र श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना हुुनुभएको थियो । उहाँलाई गएको असोज २६ गते कोरोना संक्रमण पुष्टि भई होम आइसोलेशनमा बसेको अस्पतालले जनाएको छ । उहाँको स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि उपचारका सबै उपायहरु गर्दा गर्दै मृत्यु भएको अस्पतालले बताएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको